कथा १
धेरै वर्ष पहिले काठमाडौं उपत्यकाको
पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा
गाईवस्तु चराउने चौर थियो । त्यो चौरमा गोठालाहरुले गाइवस्तु चराउने गर्दथे ।
गाईवस्तु चराउने क्रममा एक दिन एउटा
गोठालोले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को
टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । सबै गोठालाले रोटीका
टुक्रा फ्याक्न थाले तर सबै गोठालाले फ्याँकेको रोटीको टुक्रा हराएन । ज जसले
फ्याँकेको रोटीका टुक्रा हराएका थिए, उनिहरुका
आमा थिएनन् र ज जसका आमा थिए उनिहरुका रोटीका टुक्रा हराएका थिएनन् । कथा अनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा
पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औंसी थियो । दोस्रो दिन पनि सोही
गोठालोले रोटीको टुक्रा फ्याँक्यो तर अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा
चाल पाई गाउँलेले औंसीको दिन स्वर्गीय आमा
त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने
विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई ‘मातातीर्थ’ नामकरण गरियो ।
यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले
त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र
मातातीर्थ मेला लाग्न थाल्यो ।
कथा २
परापूर्वकालमा भगवान् विष्णुका सातौं अवतार भनिने मर्यादा पुरुषोत्तम राम वनवासका क्रममा घुम्दै मातातीर्थ आइपुगेका थिए । उनलाई अपरिचित र नौलो देखेर स्थानीयले आक्रमण गरे, राम र स्थानीय बासिन्दा बीच घनघोर युद्ध भयो
त्यहीबेला रामकी पत्नी सीतालाई प्यास
लाग्यो । पानी खोज्दा कतै नभेटिएकाले रामले गंगामाताको स्तुति गरे । गंगामाताको
स्तुति गर्दै जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो ।
त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाइन् । ब्रह्माण्डको दर्शन गर्दा
उनको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो । गोठालाहरुले गाई चाराउने क्रममा
कुण्डको नजिकै बसेर खाजा खाँदै थिए । संयोगवश एउटा गोठालोको हातबाट रोटीको टुक्रा
फुत्केर कुण्डमा पुग्यो । कुण्डमा गएको रोटीको टुक्रा टिप्न जाँदा उसले कुण्डभित्र आफ्नी आमाको दर्शन पायो । उसले
आफ्नी आमालाई देखेपछि घर नफर्की आमा सँगै जाने इच्छा गर्यो । गोठालोले एक्लै घर फर्किन
नमाने पछि आमाले छोरालाई सम्झाउदै भनिन् ‘अहिले
तिमी हामीसित जान मिल्दैन । बरु मेरो दर्शन गर्न प्रत्येक वैशाख औंसीको दिन आउनू ।’ त्यो दिन पनि बैशाख औँसीको दिन थियो ।
उक्त दिन हरेक आमा गुमाएका सन्तानले
यही कुण्डमा आफ्नी आमाको आकृति देख्न सक्छन् भन्ने जानकारी दिएर आमाले गोठालो
छोरालाई फकाई फुल्याई बिदा गरिन् । आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम ‘मातातीर्थ’ रहन गयो । त्यहाँ गएर शास्त्रोक्त
विधिपूर्वक गरिने कर्मकाण्डबाट मृतात्माले मोक्ष पाउने तथा उक्त कार्य गर्ने
सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास रहीआएको छ ।