विभत्स हत्या गरिएका मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार


 पुस १७ । विभत्स हत्या गरिएका ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका, भदौरेका मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार गरिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा शवपरिक्षण पश्चात विहिबार स्थानीय घाटमा दम्पतिको एउटै चित्तामा दाहसंस्कार गरिएको हो ।

किरानापसल सन्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उहाँकी धर्मपत्नी ६० वर्षकै रत्नमाया थापामगर आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । मगर दम्पतिको शव मतान घरमा स्याउलाले छोपेर राखेको अवस्थामा मंगलबार विहान भेटिएको थियो । पसलमा सामन खरिद गर्न आएका स्थानीयले मृतअवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयबासीका अनुसार मंगलबार विहान लामो समय सम्म घरको ढोका र पसल नखोलेपछि खोजी गरेका थिए । पटकपटक मोबाईलमा फोन गर्दापनि फोन नउठेपछि घरमा खोजी गर्न गएका थिए । घरको अगाडी रगतका थोप्लाहरु थिए । रगत पैलाउदै जाँदा मतान घरको मुनीपट्टी दुवै जनाको शव एकैठाउँमा राखेर स्याउलाले छोपेर राखिएको अवस्थामा फेला पारेका थिए ।

घट्नास्थलमा देखिएको रगत र कोदालो भेटिएपछि घटना हत्या नै भएको हुनसक्ने आशंका प्रहरीले गरेको थियो । घट्ना शंकास्पद देखेपछि प्रहरीले घटनास्थल सुरक्षीत राखी धरानबाट तालीम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको छ । अनुसन्धानलाई थप प्रभावकारी बनाउन तालीम प्राप्तको कुकुरको प्रयोग पश्चात बुधबार बेलुका मात्र शवपरिक्षणका लागि जिल्ला अस्पताल पठाईएको थियो । विहिबार भएको शवपरिक्षण पश्चात मगर दम्पतिको स्थानीय घाटमा एउटै चित्तामा राखेर दाह संस्कार गरिएको स्थानिय बासीले जानकारी दिएका छन् । घट्नाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

मगर दम्पतिका १ छोरा र ५ छोरी रहेका छन् । सबैजना छोराछोरीको विवाह भईसकेको छ । छोराबुहारी  काठमाण्डौमा बस्ने भएकाले बुढाबुढी मात्रै घरमा बस्दै आएका थिए ।  

प्रतिक्रिया