राजकुमार कार्की
कातिक २६ । छङ्गछङ्ग गर्ने झरना, नजिकै व्यावसायिक कालीगढले निकै मेहनत
गरेर कुँदेको जस्तो देखिने (तर आफै उतपन्न भएको)
ठुलो देवीको मूर्ति जहाँ पुग्दा हर जोकोहीको पनि मनमा आनन्द आउने गर्छ ।
वरिपरि हरियाली मनोरम दृश्य सँगै विभिन्न चराचुरुङ्गीले गाउने भाका र आवाजले
सबैलाई मन्त्रमुग्ध बनाउछ । यो ठाउँ हो, ओखलढुंगा
जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय
स्थल ‘श्रीचम्पादेवीको मन्दिर’ । परापुर्वकाल देखि दर्शन, पूजाराधाना गर्दै आएको यस मन्दिरमा
दर्शन गर्दा मनोभावना पूरा हुने किंवदन्ती रहेको छ ।
पहराको काछमा अवस्थित मन्दिरमा करिब १५
फिट भन्दा अग्लो झरना निरन्तर झरीरहन्छ । झरना, हिँउद, वर्षा सबै समयमा एक टङ्चाले
झरिरहन्छ । झरनाको पानी निक्कै नै चिसो छ
। झरनाको पानीले नुहाएर (एकपटक झरनामा
आफ्नो बस्त्र सहित उभिएर पुरै शरिरमा हालेर) मात्रै देवीको दर्शन गर्ने गर्दछन् ।
झरनामा बस्त्र सहित पानी थाप्दा पहिला
निक्कै चिसो हुन्छ, शरिरमा पारिएको (भएको) पानी तत्कालै
सुक्छ र चिसो कम हुदैँ जान्छ । देवीको
दर्शनमा जति धेरै दर्शनार्थीको घुँइचो हुन्छ, त्यति
धेरै झरनाको पानी बढ्ने गरेको छ । दर्शनार्थी धेरै भएको बेला देवीको शक्तिका कारण झरनामा
पानी बढेको स्थानिय बुढापाका दर्शनार्थीले बताउने गरेका छन् ।
गर्मी समयमा पनि ओसिलो र झरना निरन्तर झरीरहने
भएकाले श्रीचम्पादेवीको मन्दिर ‘ककनी
मन्दिर’ को नामले पनि परिचित छ । बुढापाकाहरुले
‘ककनी देवीथान’ पनि भन्ने गरेका छन् । समुन्द्री
सतहदेखि २४ सय मिटर उचाईमा रहेको मन्दिरमा बाह्रै महिना चिसो नै हुन्छ । पहराको
बिचमा रहेको देवीको प्राकृतिक मन्दिरमा जानको लागि मन्दिरको पुर्वतिर बाट मात्रै
जान–आउन सकिने बाटो रहेको छ ।
बाटोको दाँया–बाँया ठुलाठुला रुखहरु लगायत विभिन्न बास्नादार फुलका रुखहरु र
औषधीजन्य बिरुवाहरुको सुगन्धले मानिसहरुलाई निर्मल बनाउने गरेको छ । बाघ, भालु, मृग, घोरल, खरायो, चितुवा, जरायो, दुम्सी, बाँदर लगायतका जीव जनावर यत्रतत्र डुलीरहेका हुन्छन् । राष्ट्रिय चरो
डाँफे, लगायतका विभिन्न प्रजातिका
चराचुरुङ्गीहरुले आगन्तुक (दर्शनार्थी) लाई विभिन्न भाकाले स्वागत गरिरहेका
हुन्छन् ।
गुराँसे डाडाबाट करिब १ किलोमिटर
दुरीको पैदलयात्रा पछि प्राकृतिक रुपमा बनेको मन्दिरभित्र जा–ज्वल्यमान देवीको साथमा श्रीमहादेवको
मूर्ति समेत रहेका छन् । प्राकृतिक रुपमा निर्मित मन्दिरको बिच भाग भएर छङ्गछङ्ग
गर्दै झर्ने झरनाको बाँया पट्टि विभिन्न देवीदेवताको बिशाल मूर्तिहरुमा दर्शन गर्न
पाइन्छ । झरनाको उत्तरतर्फ सन्सारीमाता, नागनागिनी, सिमेभूमे, श्रीपर्वतराज, श्रीगणेश, श्रीसिद्धेश्वरी माताको प्राकृतिक
शिलाले बनेका मूर्तिहरु रहेका छन् । मन्दिर गेटबाट छिर्ने वितिक्कै झरनाको पूर्वीभागमा
अवस्थित श्रीचम्पादेवीलाई दर्शन गरेपछि मात्र अन्य देवीदेवताको दर्शन गर्ने चलन छ
। निक्कै भिरालो र पहराको काछमा अवस्थित मन्दिरमा जान बृद्ध–बृद्धा र बालबालीका जान कठिन अवस्था
थियो । तर अहिले स्थानिय तहले तलबाट ढुंगाको गाह्रो लगाई केहि सम्म बनाएपछि सबै
उमेरसमुहका दर्शनार्थीहरुलाई दर्शन गर्न सजिलो भएको छ । चम्पादेवी गाउँपालिकाले
करिब १ किलोमिटर जति बाटो ढलान, मन्दिरमा
गेट निर्माण, भक्तजनहरु बस्ने ठाउँ (चउर) को
व्यवस्था आदि काम गरिसकेको छ । प्रयाप्त बजेट नभएकाले पूर्वाधार विकास गर्न नसकेको
चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीले बताउनु भयो । देशविदेशबाट देवीको
दर्शन गर्न आउने गरेको भएपनि अझै प्रचारप्रसार कम भएको पनि बताउनु भयो ।
जिल्लासभामा चम्पादेवी मन्दिर क्षेत्रलाई जिल्लाको गौरवको आयोजनाका रुपमा पास गर्न
गरिएको प्रस्ताव सर्वसहमतिले पास गरेको पनि प्रमुखले बताउनु भयो । जिल्लाको गौरवको
आयोजनामा परेपछि थप विकास हुनेमा आफु विश्वस्त रहेको पनि प्रमुख केसीले बताउनु भयो
। पुस ५ र ६ गते बसेको ओखलढुंगा जिल्लाको चौथो जिल्ला सभाले चम्पादेवी मन्दिर
क्षेत्रलाई जिल्लाको गौरवको आयोजनाको रुपमा पास गरेको छ ।
देवीको उत्पति र दर्शन बारे किंवदन्ती
अहिले श्रीचम्पादेवी मन्दिर भएको
ठाउँबाट करिब १ किलोमिटर पूर्वपट्टि रहेको गुराँसे डाँडामा गाई, भैँसी, बाख्राहरुको खर्क लाने चलन रहेछ । वस्तुहरु दिनभरी जंगलमा छोडीदिने र
रातपरेपछि जम्मा गरेर खर्कमा राख्दा रहेछन् । उक्त खर्कमा अहिले पनि खर्क नै रहेको
र दर्शन गर्ने बेलामा दर्शनाथीहरु जम्मा भई रमाईलो गर्ने गरेका छन् । उक्त खर्कमा
एक गोठालाको परिवारमा चम्पा नाम गरेकी
छोरी थिइन् । समय बित्दैजाँदा एक दिन ति गोठालाकी छोरी चम्पा र गाइवस्तु एक्कासी
हराए । छोरी र गाईवस्तु एकैपटक हराउँदा ति गोठाला भावविह्वल भई साथीभाई सहित छोरी
र गाईवस्तुको खोजी गर्न थाल्नुभयो । लामो समय सम्म खोजी गर्दा पनि केहि गाईवस्तु
पहरामै बसेको अवस्थामा फेला पारे भने केहि गाईवस्तुलाइ बाघले खाएर छोडेको अवस्थामा
फेला पारेका थिए । तर छोरीको भने केहि खबर पाउन सकेनन् । गाईवस्तुलाई बाघले खाएको
अवस्थामा फेला पारेपछि छोरी चम्पालाई पनि बाघले नै खाएको विश्वास गरी बाँकी भएका
गाई वस्तुहरु जम्मा गरी बेँसीको घरमा लिएर गएछन् । चम्पालाई भने कहिँ कतै पनि
भेटेनन् । अर्काे वर्ष फेरी वस्तुभाउ लिएर सोही ठाउँ (गुराँसे डाँडा) मा खर्क राख्न
गएछन् । चरिचरनको लागि वस्तुभाउ सधै जंगलमा छोडिदिने र बेलुका भएपछि वस्तुभाउ आफै
खर्कमा आउने गर्दारहेछन् ।
समय बित्दै जाँदा एक दिन सबै गाइवस्तु
चरणबाट फर्किएनन् । कुनै पनि गाईवस्तु चरणबाट नफर्केपछि गोठालाहरु चिन्तित हुँदै
खोज्न गएछन् । खोज्दा–खोज्दा एउटा पनि गाईवस्तु भेटिएनन् ।
जति खोज्दा पनि एउटै वस्तु नभेटेपछि गोठालाहरु चिन्तित र अचम्मीत हुँदै गोठमा
फर्के र खाना साना खाएर सुते । सुतेर निदाएको एक गोठालोलाई सपनामा आएर कसैले
(नचिनेको) ले भन्यो ।, पहाराको बिच भागमा यस्तो ठाउँ रहेको छ । त्यहाँ भोली विहानै खालीपेटमा
गएर खनेर हेर्नु त्यहाँ मूर्ति भेटिनेछ, उक्त
मूर्ति चम्पादेवीको हो, नजिकै भएको झरनाबाट जल ल्याई उक्त
मूर्तिलाई स्नान गराई गाईको दुध चढाउनु, भैँसीको
दही चढाउनु, फूल अक्षता, धुप बत्ति बाल्नु र आफ्ना हराएका
गाईवस्तु जस्ताका तस्तै सकुशल आउन् भनी प्रार्थना गर्नु भनी सपनामा भनेछन् ।
नभन्दै भोलीपल्ट विहान खालीपेटमा सपनामा भनेजस्तै ठाउँ खोजी गर्दै गोठालो अहिले
मन्दिर भएको गाउँमा गएछन् । सपनामा भनेजस्तै ठाउँ फेला पारेर कोदालोले खनेछन् ।
खन्दा ठुला जा–ज्वल्यमान देवीको मूर्ति फेला पारेछन्
। सपनामा भनेअनुसार नजिकैको झरनाबाट जल
ल्याई चढाई पूmल अक्षता, गाईको दुध, भैसीको दहि चढाई मेरा सबै गाईवस्तु
सकुशल फिर्ता हउन् । हे देवी ! मेरो सम्पुर्ण धन सम्पति सर्वस्व जे भनेपनि यिनै
गाइवस्तु हुन् । म सँधै तिम्रो
पूजाआराधाना गर्नेछु भनी प्रार्थना गरी गोठमा फर्केछन् ।
गोठमा आएको केहि समय पश्चात गाइवस्तु
आएकी भनेर हेर्न जाँदा, पहिलाकै जसरी सबै गाईवस्तु चरिरहेको
अवस्थामा भेटिए । उक्त दिन हरिबोधनी एकादशीको दिन थियो । सोहि दिनदेखि मनोकाङक्षा पुरा गर्ने देवीको दैनिक
पूजाआराधाना गर्न थाल्यो । यसरी आफुले पनि पूजाआराधना गर्दै आफ्ना साथीभाईहरुलाई
पनि भन्दै गयो । विशेष गरी हरिबोधनी एकाशीको दिन पूजाआराधना गर्ने र अन्य दिनमा
पनि पूजाआराधाना गर्ने चलन रहेको हो ।
४५ वर्ष भन्दा धेरै गुराँसे डाँडामा
गोठमा बस्नुभएका खत्रीको ताजा अनुभव
चम्पादेवी मन्दिर नजिकै घनघोर जंगलको
बिचमा गाईगोरु, भैँसी, बाख्राको गोठ लगेर चम्पादेवी–४
का उत्तम बहादुर खत्री बस्नु भएको छ । उहाँ
वर्षको करिब ९ महिना भन्दा बढी गोठ त्यहीँ राख्ने गरेको बताउनु हुन्छ ।
उहाँ आफैमात्रै करिब ४५ वर्ष भन्दा लामो समय गोठ लिएर बसेको बताउनु भयो ।
चम्पादेवीको मन्दिर आसपास जंगलमा कहिलेकाँही चमत्कार हुने गरेको बताउनु हुन्छ ।
मध्यान्ह दिउसोको समयमा र मध्यान्ह रातीको समयमा थुप्रै मानिसहरु कुराकानी गरेको
जस्तो आभास हुने आवज सुन्ने गरेको र आफु गोठमा एक्लै बसिरहेको बेलामा बेलुका
कहिलेकाहीँ थुप्रै महिला पुरुषहरु जस्तो देखिने गरी मान्छेहरु आएर उभिने र केहि
नभनी फर्किने गरेको अनुभव पनि सुनाउनुभयो । शुरु–शरुमा त डर लाग्यो, देवीलाई
पुकार गरी बसँे तर अहिले चाहि बाँनी भएँ डर लाग्दैन, हरेक विहान बेलुका धुपा बालेर देवीलाई सम्झिने गरेको बताउनु भयो ।
उहाँ विहानै देवीलाई सम्झेर आफ्नो गाईभैँसी, बाख्रा
सबै जंगलमा छोडीदिनु हुन्छ बेलुका आफै आउने गरेका छन् । ८।१० वर्ष पहिले बुहारीले
देवीथान भएको ठाँउभन्दा २०० हात भन्दा टाढा लुगा धोएकी रहिछन् । त्यो बेला लैनो
भैँसी लडेर म¥यो, देवीको
मन्दिर वरीपरि फोहोर गर्नु हुँदैन केहि न केहि खति हुने गरेको छ । गत सालको कार्तिक महिनामा दर्शनार्थीले मन्दिर
नजिकै रहेको देउरालीमा चढाएको भेटी (पैसा) बाटोमा छरिएका रहेछन् । ति छरिएका
पैसाहरु जम्मा गरी चाउचाउको प्लाष्टिकमा हाली हिड्ने बाटो भन्दा माथ्लापट्टि
राखिदिएको थिएँ । त्यसको केहिदिन पछि चरणमा गएका बाख्राहरु तिन दिन हराए जति खोजी
गर्दा पनि भेटिएनन् । पैसा टिपेर प्लाष्टिकमा राखिदिएको याद अयो र त्यो पैसा भएको
ठाउँमा गई, मैले पैसा लगेको छैन यहि टिपेर
राखिदिएको हुँ भनी अगरबत्ति बालेर त्यो पैसा त्यहि देउरालीमा खन्याएर आँए, दिउँसो ३।४ बजेको समयमा सबै बाख्रा
फर्केर आएको खत्रीले बताउनु भयो ।