झगनखबर
मंसिर ७ । हरिबोधिनी एकादशीलाई
एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो
एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी
भनिएको हो ।
धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु
उठ्नुहुन्छ भन्ने जनविश्वास छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु
भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।
आजको दिन आआफनो घरमा भएका तुलसीको विवाह पनि गर्ने चलन रहेको छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा
पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै
महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ
बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् । हरिशयनी एकदशीको दिन रोपिएको तुलसीको
हरिबोधनी एकादशीको दिन विवाह गरेर पूजा बिसर्जन गर्ने चलन रहेको छ
वैदिक सनातन संस्कारमा तुलसी पूजाको
ठुलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन संस्कारीहरू प्रातः कालमा नै उठेर तुलसीमा
पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।
वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा नै किन नहोस्, सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ, यसको महत्त्व रहेको छ । हिन्दु धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मानिन्छ ।
तुलसीको महत्त्वको विषयमा पद्म पुराणको प्रसङ्ग
बिन्दा देवीले पृथ्वीमा आएर भगवान् विष्णुलाई आफ्नो पतिको रूपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्त्व जोडिएको छ । त्यस्तै, श्रीमद् भागवत पुराणमा पनि तुलसीको बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको छ ।
भोजनमा सधैँ तुलसीको पात पनि राख्ने भगवान् श्रीकृष्णसँग पनि तुलसीका विभिन्न प्रसङ्गहरू जोडिएका छन् । त्यसैले पनि अँजुलिभर पानी लिएर तुलसीको पातमा सफा हृदयले अर्पण गर्दा मात्रै पनि श्रीकृष्ण भगवानको कृपाले आफूले चाहेको फलहरू मिल्ने विश्वास पनि गरिएको छ । स्कन्द पुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने प्रसङ्ग उल्लेख गरिएको छ ।
हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई
आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।
यसका लागि तुलसीको मठको चारैतर्फ
बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । आजको दिन
हिन्दु धर्मालम्बीहरुले रुद्री पूजा गर्ने चलन पनि रहेको छ ।
तुलसीको पूजा :
भगवान् विष्णुले सबैभन्दा पहिले
तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको
विश्वास गरिन्छ । यही दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको मानिन्छ । अनि
शालिग्राम वा पिपलसँग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको
प्रतीकात्मक विवाह मानिन्छ ।
यस दिन बिहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र भगवान् विष्णुको पूजनसहित तुलसी विवाह गरेर व्रत बस्ने परम्परा छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगन गरेर सजाइने गरिन्छ । अनि चारैतिरबाट उखु, साल, बाँस या नियालो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ ।
दियो, कलश, गणेशसहित सबै देवी–देवताहरूको र श्री शालिग्रामको श्रद्धा
एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी
भगवानलाई अर्पण गरी प्रसाद स्वरूप न्वागी खाने प्रचलन पनि रहेको छ ।
पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमः
भन्दै पाद्य जल, अर्घ, आचमने, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु
पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे
अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दूर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, ऋतु फल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मन वाञ्छित फल प्राप्त हुने
शास्त्रोक्त कथन रहेको छ ।
त्यसपछि पहेँलो फूल हातमा लिएर
प्रार्थना गर्दै पुष्पाञ्जली पनि गर्नु पर्छ । एउटा नरिवल, दक्षिणासहित भगवान् शालिग्राम हातमा
लिएर तुलसीको सात पटक परिक्रमा गर्नु पर्दछ । तत्पश्चात् आरती गरी तुलसी विवाह
उत्सव पूर्ण गरिन्छ ।
आजको दिन भगवान् विष्णुको भजनकिर्तन
गर्दै रातभर जाग्राम बस्ने चलन पनि छ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई
सुख, समृद्धि र सबै प्रकारको मनोकामना
प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।