राजकुमार कार्की
मंसिर १८ ।
जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका नेता टेकराज भट्टराईको
पदबहाली भएको छ । लामो समय नेपाली कांग्रेसबाट राजनीति गर्नुभएका टेकराज
भट्टराईलाई प्रमुख पदमा बहाली गरिएको हो । निरबिरोध निर्वाचित हुनुभएका भट्टराईलाई
मंगलबार शपथग्रहण सहित पदबहाली गरिएको जिल्ला समन्वय समिति ओखलढुंगाले जानकारी
दिएको छ ।
मुख्य निर्वाचन
अधिकृत एवं जिल्ला न्यायधिस गिरीराज गौतमले निर्वाचित प्रमाणपत्र वितरण र शपथ
ग्रहण गराउनु भएको थियो । शपथग्रहण तथा पदबहाली कार्यक्रममा पूर्वमन्त्री एवं
प्रदेश सभा (क) का माननिय प्रदिपकुमार सुनुवार, पूर्व सभामुख एवं प्रदेश सभा (ख) का माननिय
बाबुराम गौतम स्थानिय तहका प्रमुख र उपप्रमुखको उपस्थिी रहेको थियो । करिब १ वर्ष तीन महिना खाली रहेको जिल्ला
समन्वय समितिको प्रमुखको पद मंगलबारबाट पदबहाली भएको छ ।
२०३३ सालमा नेपाल
विद्यार्थी संघबाट आफ्नो राजनीति शुरु गर्नुभएका भट्टराईले राजनीतिक आन्दोलनका
क्रममा जेलजीवन समेत बिताउनु भएको थियो । २०३३ सालमा नेविसंघ सुनसरी जिल्लाको जिल्ला सचिव हुनुभएको थियो भने
२०३७ सालमा नेबिसंघको केन्द्रिय प्रतिनिधी बन्नु भएको थियो । २०४३ सालमा नेपाली
कांग्रेसले भाग लिएको बेलामा साबिक दियाले गाउँपञ्चायतको प्रधानपञ्च समेत बन्नु
भएको थियो । २०४६ सालमा जिल्ला कार्यसमिति ओखलढुंगाको सल्लाहकार सदस्य र ४७ सालमा जिल्ला कार्यसमिति सदस्य हुनुभएका
भट्टराई सहसचिव, सचिव हुँदै २०६३ मा जिल्ला उपसभापति भई राजनीतिक करियर अगाडी बढाउनु भएको
थियो । पटक पटक नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधी र महासमिति सदस्य बन्दै
आउनु भएको थियो । नेपाल किसान संघको केन्द्रिय सदस्य र केन्द्रिय सचिव समेत बन्नु
भएको थियो ।
२०३६ सालमा
विद्यार्थी आन्दोलनको क्रममा धरानबाट पक्राउ परी विराटनगरमा १५ दिन जेलजीवन
बिताउनु भएको थियो । २०६२÷०६३ को आन्दोलनका क्रममा निरन्तर तीन महिना र पछि थप १ महिना गरी ४ महिना
जेलजीवन बिताएको बताउनु भएको छ ।
ओखलढुंगा जिल्लामा
नेपाली कांग्रेसको एकल बहुमत रहेको थियो । २०७४ साल देखि निरन्तर एकलौटी जिल्ला समन्वय
समिति नेपाली कांग्रेसले गठन गर्दै आएको छ । ०७९ को चुनावमा पनि नेपाली कांग्रेसको
तर्फबाट डिल्लीराम खनाल समन्वय प्रमुख हुनुहुन्थ्यो । खनालको २०८० साल असोज १३ गते
बेलुका शिक्षण अस्पताल काठमाण्डौमा क्यान्सरका कारण मृत्यु भएपछि जिल्ला समन्वय समितिको प्रमुख पद
खाली भएको थियो । समन्वय प्रमुख खनालको मृत्यु भएपछि उपप्रमुख तारादेवी कार्कीले
कार्यभार संहाल्दै आउनु भएको थियो ।
जिल्लामा भएका ८ वटा
स्थानिय तहको १६ मत मध्ये नेपाली कांग्रेसको ९ मत, नेकपा एमालेको ५ मत, माओबादी केन्द्रको १
मत र जनता समाजबादी पार्टी नेपालको १ मत गरी जम्मा १६ मत रहेको छ । जिल्ला समन्वय
समिति ओखलढुंगाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भन्दै
नेकपा एमालेले आफ्नो उम्मेदवारी दिएको थिएन । एमालेले उम्मेदवारी नदिएपछि टेकराज
भट्टराई जिसस प्रमुखको एकल उम्मेदवार बन्नुभएको थियो ।