शिक्षा विधेयक संसदमा दर्ता, शिक्षक हुन स्नातक पास हुनैपर्ने


झगनखबर

भदौ २७ । विद्यालय शिक्षा सम्बन्धी विधेयक संसद्‌मा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार संसदमा दर्ता गराउनु भएको हो । विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो। प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुले विरोध गरेका थिए । त्यसपछि सरकारले यसलाई ऐच्छिक बनाएर विधेयक संसदमा लगेको हो ।

 शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने :

 शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । हाल प्राथमिक तहको शिक्षकका लागि कक्षा १२ उतीर्ण भए पुग्ने व्यवस्था छ । हाल प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीन तहको शिक्षकको व्यवस्था गरे पनि विधेयकमा दुई तहका शिक्षक मात्र प्रस्ताव गरिएको छ । अब आधारभूत र माध्यमिक गरी दुई तहका शिक्षक रहनेछन् ।

आधारभूत तहको शिक्षकको परीक्षामा सहभागी हुन स्नातक उतीर्ण हुनुपर्नेछ । आधारभूत तहको शिक्षक पनि दुई किसिममा बर्गीकरण गरिएको छ । कक्षा १ देखि ५ सम्म अध्यापन गर्ने शिक्षकलाई साधारण र कक्षा ६ देखि ८ सम्म अध्यापन गर्ने शिक्षकलाई विषयगत शिक्षक भनिएको छ ।

आधारभूत तहको साधारण शिक्षकका लागि जुनसुकै विषयमा स्नातक गरे पनि पाइनेछ । विषयगत शिक्षकका लागि सम्बन्धित विषयमा नै स्नातक गर्नुपर्नेछ । आधारभूत तहको साधारण शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा विषयगत शिक्षकको हकमा सम्बन्धित विषयमा सनातकोत्तर तह उतीर्ण गरेकोविधेयकको दफा ५० (१) (ख) मा भनिएको छ । शिक्षक हुन अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएकै हुनुपर्नेछ ।

माध्यमिक तहमा आन्तरिक प्रतिस्पर्धा :

विधेयकमा पहिलो पटक शिक्षकको परीक्षामा आन्तरिक प्रतियोगिताको व्यवस्था पनि गरिएको छ । आधारभूत तहको तृतीय श्रेणीको पदमा शत प्रतिशत नै खुला प्रतियोगिताबाट पदपूर्ति हुनेछ ।

माध्यमिक तहको तृतीय श्रेणीमा भने ७० प्रतिशत खुला प्रतियोगिताबाट र ३० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ । माध्यमिक द्वितीय श्रेणीको पदमा पनि २० प्रतिशत सिटमा खुला प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव गरिएको छ ।

 

प्रतिक्रिया