झगनखबर
भदौ १५ । प्रकृती र
उत्पादन सँग जोडिएको नेवारी संस्कृती झल्कीने हिलेजात्रा अन्तर्गतको रोपाँईजात्रा
ओखलढुंगा सदरमुकाममा मनाईएको छ । नेवार समुदायले प्रत्येक वर्ष मनाउने हिलेजात्रा
अन्तर्गतको रोपाँईजात्रा यो वर्ष पनि मनाईएको हो । हिलेजात्रा साउन चतुर्दशी कण्टाकर्ण
देखी शुरु भई कृष्णअष्टमीको भोलीपल्ट रथयात्रा गरेपछि सम्पन्न हुन्छ ।
नेवारको कला, संस्कृती र
परम्परानुसार देखाईने हिलेजात्रा अन्तर्गत लाखेजात्रा, गाइजात्रा, रोपाँईजात्रा लगायतका
जात्राहरु मनाउने चलन रहेको छ । मल्लकालीन राजा प्रताप मल्लको पालाबाट जात्रा
गर्ने चलन शुरु भएको जनहित गुठी
ओखलढुंगाका अध्यक्ष ध्रुवराजभण्डारीले जानकारी दिनुभयो । खेतमा धान रोपीसकेपछि
राम्रो उत्पादन होस ! सबैजना स्वस्थ रहुन ! सम्पुर्णमा सहकाल होस ! भनेर
खुशियालीमा मनाउने गरेको बताउनुभयो । काम गरेर थाकेको बेलामा आगामी वर्ष सम्म जीवनमा
सहज रहोस भनी नेवारी भेषभूषामा आधारीत मनोरञ्जनात्मक नृत्य, कला, कमेडी, हास्यब्यंग्य
प्रस्तुत गर्दै बजार परिक्रमा गर्ने चलन छ ।
विशेष गरी नागपञ्चमी, जनैपुर्णिमाको दिन लाखेजात्रा मनाउने चलन रहे पनि
हिलेजात्राको अवधीमा विभिन्न समयमा लाखेजात्रा देखाउने चलन रहेको छ । गाईजात्रा
मनाईसकेपछी रोपाँईजात्रा मनाउने चलन रहेको छ । काठमाण्डौबाट अन्य जिल्लामा बसाई
सरी ब्यापारको सिलसिलामा आएका नेवार समुदायले नेवारी संस्कारको हिलेजात्रा पनि
भित्रिएको हो ।
हिलेजात्रा अन्तर्गत पर्ने जात्राहरुमध्ये
लाखेजात्रा :

विशेष गरी नागपञ्चमी, जनैपुर्णिमामा लगायत
अन्य दिनमा पनि मनाइन्छ । लाखेजात्रामा विभिन्न देवीदेवता लगायतका आकृती झल्कीने
मखुण्डो लगाएर नाच्दै मनोरञ्जन दिदै बजार परिक्रमा गर्ने चलन छ । विशेषगरी
युवायुवतीहरुले विभन्न देवताहरुका आकृतीका मखुण्डो लगाएर मनोरञ्जन गराउने चलन रहेको छ ।
गाईजात्रा :

जनैपुर्णिमाको भोलीपल्ट मनाउने चलन रहेको छ । एकवर्ष भित्र नेवार समुदायमा दिवंगद
भएका मानिसको संझनास्वरुप र दिवंगद आत्माको चिरशान्तिको कामना गर्दै गाइजात्रा
निकाल्ने चलन रहेको छ । बाजगाजा सहित गाईको फोटो र मृतकको फोटो टाँसेर बनाइ बोकेर
गाई सहित बजार परिक्रमा गराइन्छ । गाईजात्रा निकालीसकेपछी एकवर्ष भित्र मृत्यु
भएका ब्यक्तिको जीवनीमा आधारीत रामायण, शोकगाथाको रुपमा गाउने चलन छ ।
रोपाँईजात्रा :

प्रत्येक वर्ष गाईजात्रा मनाएपछि कृष्णअष्टमीको अघिल्लो दिनसम्म कुनै पनि दिनमा
मनाउने चलन रहेको छ । रोपाँई जात्रामा नेवारी भेषभूषामा सजिने र विभिन्न कमेडी
गर्नुका साथै नृत्यहरु पनि प्रस्तुत गर्दै बजार परिक्रमा गराइन्छ । रोपाँई गर्दा
आवश्यक पर्ने हलोजुवा, गोरु, रोपाहार, बाउसेको नक्कल
प्रस्तुत गर्दछन् ।
घण्टकर्णबाट शुरु
हुने यो जात्रा करिब डेढ महिना सम्म चल्ने र कृष्णाष्टमीको भोलीपल्ट रथयात्रा गरी
समापन गरिन्छ ।