लुम्बिनी मुख्यमन्त्रिमा डिल्ली चौधरीलाई ८ दलको समर्थन


१४ वैशाख, बुटवल । लुम्बिनीमा बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्ने भएको छ ।

गठबन्धनले बिहिबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सार्दै दावी पेश गर्ने भएको हो ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो ।

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ५३ सांसदको हस्ताक्षरसहित दाबी पेस गर्ने तयारी गरेको बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४÷४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३÷३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

 

प्रतिक्रिया