माघ १७, काठमाडौँ । नेपाल भ्रष्टाचार व्याप्त
मुलुकहरूको उच्च श्रेणीमै कायम रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज (१७
गते मंगलबार) भ्रष्टाचार अवधारणा सूचकाङ्क
(सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएको हो । सन् २०२२ मा नेपालले १०० मा
३४ अङ्कमात्रै पाएर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको थियो । सीपीआई २०२१ को रिपोर्टअनुसार नेपालले अंक ३३
पाएर ११७ औं स्थानमा रहेकोमा यो पटक केही सुधार भएको हो । तरपनि नेपाल भ्रष्टाचार
व्याप्त मुलुकहरूको उच्च श्रेणीमै रहेको ट्रान्सपरेन्सी पत्रकार सम्मेलन मार्फत
जानकारी दिइएको छ । सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८
अङ्क (२५ औं स्थान), मालदिभ्सले ४० अङ्क (८५ औं स्थान), भारतले ४०
अङ्क (८५ औं स्थान), श्रीलङ्काले ३६ अङ्क (१०१ औं स्थान), नेपालले ३४
अङ्क (११० औं स्थान ), पाकिस्तानले २७ अङ्क (१४० औं स्थान), बङ्गलादेशले
२५ अङ्क (१४७ औं स्थान), र अफगानिस्तानले २४
अङ्क (१५० औंस्थान) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अङ्क (६५ औंस्थान
प्राप्त गरेको छ । सन् २०२२ मा विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान
फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा
संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई रिपोर्टको आधार मानिएको जनाइएको छ ।
सर्वेक्षणहरूमध्ये विश्व बैङ्कले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम–कारबाहीको
निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको
राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ । यस बर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क
प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी
सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १००
अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा
बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको
र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख
गरिएको छ ।