विश्वकर्मा पूजा (को हुन विश्वकर्मा बाबा ?)


झगनखबर

असोज १ । हरेक वर्षको असोज १ गतेका दिन विश्वकर्मा पूजा गर्ने चलन रहेको छ । आफुसँग भएका मेसिनरी उपकरणहरुको पूजा गर्ने गरिन्छ । दैनिक जीवनमा आईपर्ने कामहरुलाई छिटो छरितो र  सजिलो सँग काम सम्पन्न गर्न उपकरणहरुले सहयोग गर्ने भएकोले पूजा गर्ने चलन आएको हो । मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस भनेर पूजा गर्ने चलन छ ।

को हुन विश्वकर्मा बाबा ?

विश्वकर्मा बाबा देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता हुन । शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छदछन ।

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन ।

असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्दछन् ।

वास्तु दिवस

विश्वकर्मा पुजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्विय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचिनतम बिज्ञान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ । 

दिशा र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरुपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भनें सिगांपुर रहेको बताइन्छ, प्राचिनतम वास्तुशास्त्रको आधूनिक अवलम्वन अनुरुप सिंगापुरको वास्तु आत्मसाथ आजको विश्वका लागि ज्वलन्त उदहारण हो ।

प्रतिक्रिया