लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रम समन्वय बैठक सम्पन्न


राजकुमार कार्की

 जेठ १४ । जिल्लाको दुई स्थानीय तहमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य समन्वय बैठक सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका र चम्पादेवी गाउँपालिकामा लैंगिक हिंसा सम्बन्धी रोकथाम तथा प्रतिकार्य कार्यक्रम सम्बन्धी समन्वय बैठक सम्पन्न भएको हो । जेठ १३ गते सुनकोशी गाउँपालिका र १४ गते चम्पादेवी गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्षको अध्यक्षता तथा जिल्ला समन्वय समिति ओखलढुंगाका उपप्रमुख तारा कार्कीको प्रमुख आतिथ्यमा भएको बैठकले विभिन्न निर्णय समेत गरेको युएनएफपीए ओखलढुंगाकी संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो ।

दुवै गाउँपालिकाले एकद्वार संकट ब्यवस्थापन केन्द्रका घटना व्यवस्थापक र सुरक्षीत आवास गृहको सेवालाई निरन्तरता दिने निर्णय गरेका छन् । त्यसैगरी सुनकोशी गाउँपालिकाले लैंगिक समानता तथा सामाजिक समाबेशीकरण नीति तयार गर्ने, लैंगिक हिंसा निवारण कोष सन्चालन सम्बन्धी कार्यविधी बनाई सन्चालन गर्ने निर्णय गरेको छ । चम्पादेवी गाउँपालिकाले लैंगिक हिंसामुक्त गाउँपालिका घोषणा गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत शाखा प्रमुखहरुको उपस्थितिमा  समन्वय बैठक सम्पन्न भएको छ ।

लैंगिक हिंसाको वर्तमान अवस्था, औचित्यको बारेमा युएनएफपीएकी जिल्ला संयोजक रेखा श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । लैंगिक हिंसा सम्बन्धीका कार्यक्रम आफ्नो स्थानीय तहमा आवश्यक रहेको बताउदै आगामी दिनमा न्युनीकरणका कार्यक्रमहरु गर्न सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामङ र चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले प्रतिवद्धता समेत जनाएका छन् । त्यसै गरी कार्यक्रमका प्रमुख अतिथी जिसस उपप्रमुख कार्कीले लैंगिक हिंसा सम्बन्धीको कार्यक्रम प्रत्येक स्थानीय तहमा आवश्यक भएकाले लैंगिक हिंसा न्युनीकरण सम्बन्धी कार्यक्रम सन्चालन गर्न पालिकालाई सुझाव समेत दिनुभएको थियो । परियोजना लागु नभएका ४ वटा स्थानीय तहमा समन्वय बैठक मार्फत कार्यक्रमको जानकारी गराईएको सिएमसी नेपाल विराटनगरका स्वास्थ्य संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो । 

लैंगिक हिँसा रोकथाम तथा प्रतिकार्य परियोजना दोश्रो चरणको कार्यक्रम सन्चालनमा छ । युएनएफपीएको आर्थीक सहयोगमा २०१६ बाट पहिलो चरण सुरु भएको थियो भने सन् २०२० बाट दोश्रो चरणको कार्यक्रम सन्चालनमा रहेको जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो । परियोजनाले समुदायमा, विद्यालयमा, परिवार लगायत स्वास्थ्यकर्मीहरुलाई जनचेतनामूलक तालीम, अभिमुखीकरण गोष्ठी, जोडी छलफल गरिरहेको छ । श्रीमान श्रीमतिहरुको सहभागीतामा जोडी छलफल समेत सन्चालन गरेको छ । युएनएफपीएको आर्थीक सहयोगमा कोकन नेपालले यो कार्यक्रम सन्चालन गरेको थियो । विवाह गरेको ५ वर्षभित्रका श्रीमान श्रीमतिलाई पटक पटक गरेर ३५ दिन सम्म तालीम, गोष्ठी लगायत छलफलमा सहभागी गराउने गरेको पनि जानकारी दिएका छन् ।

परियोजना लागूभएको ४ वटा पालिका चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ र सिद्धिचरण नगरपालिकामा युएनएफपीए र पालिकाको आर्थीक साझेदारीमा  १÷१ जना पालिकास्तरीय र प्रत्येक वडामा एकएक जनाका दरले सामुदायिक मनोपरामर्शकर्ता कार्यरत छन । त्यसै गरी जिल्ला स्वास्थ्य कार्यालयमा रहेर एकद्वार संकट व्यवस्थापन केन्द्रमा   घट्ना व्यवस्थापक र मनोपरामर्शकर्ता, सुरक्षीत आवास गृहमा मनोपरामर्शकर्ता सहित ३ जना, लैंगिक हिंसा प्रतिकार्यमा कार्यरत छन् ।  यो परियोजना सन २०२६ सम्म सन्चालनमा रहनेछ । कार्यक्रम स्थानीय समुदायमा प्रभावकारी भएकाले  परियोजनाको समाप्ती पछि पनि स्थानीय तहले कार्यक्रम सन्चालन गर्न प्रतिबद्धता जनाएको श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया