श्रीस्वस्थानी व्रतकथा र यसको महिमा


झगनखबर

माघ ११ । सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज बाट सुरु भएको छ  । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने स्वस्थानी व्रत र कथा  सुरु भएको हो । 

हिन्दु धर्मालम्बीहरुले चोखो रही घरघरमा श्री स्वस्थानी कथा वाचन गर्ने  गर्दछन् । एक महिनाभर व्रत कथाका ३१ अध्याय पाठ वाचन र श्रवण गरिन्छन् । आजबाट सुरु भएको कथा वाचन एक महिनाभरी चल्ने गर्दछ । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको व्रत तथा कथा वाचन माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिलापुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ ।स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछामासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।

श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । यं व्रह्मा वरूणेरूद्रमरूतमन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा उपनयतु मंगलम्मन्त्रका साथै समापन हुन्छ । अष्ट मातृका अर्थात् आठ वटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ । शुद्ध चित्त अनि सफा सङ्कल्प लिएर भक्ति अनि श्रद्धा सँग अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाङ्क्षा पूरा गर्ने देवी स्वस्थानीका चार वटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरबार अनि कमलको फूल छन् ।

कथाको बारेमा :

स्वस्थानी शब्द स्वस्थानमा ई प्रत्येय लागेर बनेको हो । स्वस्थान भन्नाले आफैंमा रहने भन्ने अर्थ हुनाले स्वस्थानीको अर्थ आफ्नै वरपर रहने मातृशक्ति देवी भन्ने बुझिन्छ । स्वस्थानी व्रत नेपाली मूलका हिन्दूहरूले मात्र मनाउने र स्वस्थानी व्रतकथाभित्र पर्ने लावण्यदेश, सालीनदी, गौरीघाट, मृगस्थली, किरातेश्वर, बागमती नदीलगायत क्षेत्रहरू नेपालभित्रै पर्ने हुनाले नेपालको स्थानीय एवं मौलिक पर्वको रूपमा स्वस्थानीव्रतलाई लिइन्छ । महिना दिनभर घरघरमा वाचन एवं श्रवण गरिने श्रीस्वस्थानी व्रतकथाको महत्व धार्मिक एवं आध्यामिक रूपले मात्र नभई समाजका विकृतिलाई हटाएर स्वस्थानमा रहन प्रेरित गर्दछ । हाम्रो समाजमा अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनको निमित्त स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ ।

अष्टमातृकाहरुको केन्द्रका रुपमा स्वस्थानी माता

वैष्णवी, महाकाली, चामुण्डा, इन्द्राणी, वाराही, कोमारी, महेश्वरी र ब्राह्मी माता स्वरुपहरु नै अष्मातृकाका रुपमा विराजमान हुनुहन्छ । वृहदस्वस्थानी(व्रतकथापुस्तकको अनुसार, श्रीस्वस्थानी देवीको ८ वटा रूप रहेको छ, जसलाई अष्टदल भनिन्छ। अष्टदलको केन्द्रमा बसेकी चार हातमा त्रिशूल, तलवार, चक्र र कमल लिएकी श्रीस्वस्थानी देवी हुनुहन्छ ।

 स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राहृमणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश दिई ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो नेपाली समाजमा पनि नयाँ पुस्तलाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । साथै काम र उमेरले पाका भएको व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई सधैं मनन एवं अध्ययन गर्ने हो भने पक्कै पनि समाजको चौर्तफी विकास हुने कुरामा कसैको दुईमत नहोला । अतः हाम्रो समाजमा चलि आएको स्वस्थानी कथाले नेपाली समाजमा रहेका विकृत तथा विसंगतिलाई हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देशको रूपमा लिन सकिन्छ ।

 

 

प्रतिक्रिया