जिल्लाको शैक्षिक सुधार गोष्ठीमा बोल्दै, सुधारका लागि कसले के भने


राजकुमार कार्की

 पुस १० । जिल्लाको शैक्षिक उन्नयनका लागि एक दिवसीय गोष्ठी जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ । जिल्ला  समन्वय समिति को आयोजना तथा शिक्षा विकास इकाई ओखलढुंगाको सहकार्यमा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समितिकमा प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धिचरण नगरपालिकाका नगर प्रमुख, चम्पादेवी, सुनकोशी, मोलुङ र  चिशंखुगढी गाउँपालिकाका अध्यक्षहरु र केहि विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षकहरु युवराज दाहाल, गोकर्ण बानिया, कुल प्रसाद खतिवडा र उमेश बुढाथोकीले  शैक्षिक सुधारको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएको उक्त कार्यपत्र र सरोकारवालाबाट आएका सुझावहरु समेत राखी सबै स्थानीयत तह, जिल्लास्थित क्रियाशिल राजनीतिक दल, सरोकारवाला निकायमा पठाई आवश्यक सुझाव र प्रतिबद्धता गराई यसलाई ओखलढुंगा जिल्लाको शिक्षा नीतिको रुपमा स्वीकार गरी आगामी शैक्षिक सत्रबाट लागु गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

गोष्ठीमा सहभागीहरुमध्ये अन्तिमम बोल्दै सहभागीहरु कसले के भने 

कार्यक्रमका अध्यक्ष एवं जिसस प्रमुख टेकराज भट्टराई:

कार्यक्रमको अन्त्यमा धेरै जसो सहभागीहरु निस्कीसकेका थिए यसलाई ब्यङ्ग्यात्मक रुपमा भन्दै यसरी सुरु गर्नुभयो; ‘कागलाई वसन्तऋतुको महत्व नभएजस्तै यो कार्यक्रम पनि सबैलाई महत्व नहुन सक्छ । जसलाई महत्व लाग्यो, अहिले सम्म निरन्तर बसीरहेका छौ । जसलाई महत्व लागेन उहाँहरु गईसक्नु भयो । जिल्लाको शैक्षिक सुधार गर्न एक पक्षले मात्रै संभव छैन, तत्तत् ठाउँबाट सबैजना लाग्नुपर्दछ । शिक्षा, देश र समाजको मेरुदण्ड हो, यसलाई सुधारेर लैजान आवश्यक छ । शिक्षा हिजोबाट आज झन्झन् विग्रीदो अवस्थामा छ । विद्यालयमा बढी दलीयकरण भएका कारण शिक्षामा ह््रास आएको हो । विद्यालय शिक्षक नियुक्त गर्दा राम्रालाई छोडेर हाम्रालाई नियुक्त गरिँउ । अवका दिनमा जहाँबाट गल्ती भयो, त्यहिबाट सुधार गरेर अगाढी बढौ, हिजो जे गरिँउ आज त्यो नगरौ । जिल्लाको शिक्षामा भएको रोग पत्ता लागेको छ, अव उपचार गर्न सजिलो छ । सामुदायिक विद्यालयमा भरोसा नभएर नीजी विद्यालयमा जान बाध्य भएका कारण नागरिकको बढी खर्च भएको छ । सामान्य नागरिकका सन्तती पढ्ने सामुदायिक विद्यालयको सुधार गर्न सबै जना लाग्ने हो भने संभव छ ।

कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश पूर्व अर्थसमिति सभापति मोहन कुमार खड्का:

शिक्षामा सुधार नहुनुको मुख्य कारण समयअनुकुल नीति, नियम, ऐन, कानून नबन्नु हो । संविधान निर्माण भएको कम्तिमा पनि २ वर्षमा बन्नुपर्ने ऐन,नियम अझै २ कार्यकालमा पनि आउने संभावना छैन । समाजमा विकासको बुझाई पनि गलत छ । स्थानीय तहको बजेट निर्माण गर्ने कुरा ध्यान दिएका छैनन् । विद्यार्थीलाई विद्यालयसम्म सहज आउने वातावरण सिर्जना गर्न सकेका छैनन् । देशमा राजनीतिक र प्रशासनिक संघियता आयो तर वित्तिय संघियता अहिले पनि आएको छैन । देशमा श्रमशक्तीको अभावमा थुप्रै योजनाहरु रुग्न छन् । शैक्षिक सुधारको मुख्य जिम्मेवारी शिक्षकहरु नै हुन् । जसलाई विद्यालय ब्यवस्थापन समिति र स्थानीय तहले हस्तक्षेम गर्नुहुदैन । स्थानीय तहले शैक्षिक सुधारको कार्यक्रमका लागि बजेटको ब्यवस्था गर्नु पर्दछ । विद्यालय भवनहर भूतबंगाला बन्नेवाला छन् । आज विद्यार्थीको अभावमा विद्यालय खाली भएका छन् ।  अबको १० वर्ष पछि शिक्षककै अभावमा विद्यालय खाली हुने खतरा बढेको छ । गाउँलाई पुनर्संरचना गर्नु पर्ने आवश्यक छ । 

चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा:

नेपालको कानूनमा संस्थागत र निजी विद्यालय खोल्न पाउने अधिकार छ । विद्यार्थीलाई निजी विद्यालयमा पठाउछन भन्ने आरोप छ । यो आफैले निम्त्याएको विषय हो । समाज रुपान्तरणमा सबै लाग्नु पर्दछ । विद्यालय सुधार गर्न, विद्यालय प्रशासनलाई स्तन्त्र छोडीनुपर्दछ, राजनीतिक आधारमा गरिनु हुदैन । भोट हालेको आधारमा प्रधानाध्यापक नियुक्त नगरी योग्यताको आधारमा नियुक्ती गरिनुपर्दछ ।  

बरुणेश्वर माध्यमिक विद्यालयका प्र.अ. कुल प्रसाद खतिवडा:

पञ्चायत कालको शिक्षा ऐन बोकेर गुणस्तरमा समस्या आएको हो । शिक्षालाई अहिले सम्म पुरातन हिसाबले सोचिएको छ । शिक्षाको दृष्टिकोणमा एकरुप्ता छैन । विद्यार्थीलाई सिकाउन, टिकाउन र विकाउन सकिएको छैन । हामी शिक्षकहरु पुराना भयौँ भन्ने पनि छ, शिक्षकहर रुपान्तरण हुन आवश्यक छ । पहिला शिक्षण सिकाईमा सुधार गर्नुपर्दछ र दोश्रोमा परिक्षा प्रणालीमा सुधार गर्नुपर्दछ । अब ४५ मिनेट पढाएर संभव हुदैन । स्थानीय पाठ्यक्रमको विकास गरी खेल शिक्षक, संगित शिक्षक, कम्प्युटर शिक्षक नियुक्त गर्नुपर्दछ ।

टंकराज गिरी पूर्वशिक्षक:

पञ्चायत कालमा बनेको शिक्षा नीति बोकेर अहिलेसम्म विद्यालय सन्चालन गरिरहेका छौ । शिक्षालाई परिवर्तन गर्न ड्युटी इज गड भनेर लाग्नुपर्दछ । स्थानीय तहले राजनीतिक आस्थाका आधारमा विद्यालयमा पूर्वाग्राहि हुनुहुदैन ।

जालपा माध्यमिक विद्यालयका प्र.अ. रत्न केसी:

म विहान सदरमुकाम तिर आउदै गर्दा मेरो विद्यालयको कक्षा २ मा अध्ययन गर्ने लामीसोती भन्दा पनि तलकी नानीले झोलामा दुध बोकेर बजारमा बेचेर घर फर्कीदै गरेको  पटक पटक भेट्ने गर्छु । त्यो दुध बजारको बोर्डिङ स्कुलमा ५÷६ कक्षामा पढ्ने विद्यार्थीलाई उसका बुवाआमाले खाइदेउन बाबु भनेर दुध खुवाउन कर गरेको देख्छु । उता मेरो स्कुलमा पढ्ने नानीले घरमा पुगेर पनि अन्य काम गरेर विद्यालय आउछीन । मेरो विद्यालयमा अरु विद्यार्थीहरु पनि करिब २ घण्टाको पैदलयात्राबाट विद्यालय आइपुग्छन् । तर बोर्डिङका विद्यार्थीलाई लिन गाडी घरमै पुग्छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खत्तमै छ भनेर रोइहाल्नु पर्ने अवस्था छैन । मेरो विद्यालयबाट एसएलसीमा सहभागी भएको १७ वर्ष भयो । तर अहिले सम्म म त्याहा अध्ययन गरेर बेरोजगार भएँ, माग्ने भएँ भनेर आएका छैनन् । मेरा छोराछोरी लालिगुराँस स्कुलमा पढेका हुन तर अहिले सम्म पनि बेरोजगार नै छन् ।  शिक्षाको गुणस्तर नाप्ने कुनै यन्त्र पनि भेटेको छैन । स्थानीय तहले बाटो भत्काउने मात्र हैन शिक्षामा पनि लगानी गर्नुप¥यो । हाम्रा कुरा स्थानीय तहले सुन्ने गरेको छैन । शिक्षालाई अहिले भएको बाट सुधार गर्न आवश्यक छ । हामी राज्यको तलब खाएर विद्यार्थीको भविष्य निर्माणमा लागेका हाँै ।

ओखलढुंगा क्याम्पसका प्रमुख इश्वर तिमल्सिना:

शिक्षकहरु रुपान्तरण भएर केलासभित्र छिर्न सक्दैनौ भने परिवर्तन संभव छैन । शिक्षक नै परिवर्तन हुन आवश्यक छ । शिक्षकहरु लाग्दा  शैक्षिक गुणस्तर बृद्धि गर्न संभव हुदोरहेछ भन्ने कुरा मैले अध्यापन गराउने क्यम्पस बाट प्रमाणित भएको छ ।

लालीगुराँस इङ्लीस स्कुलका सहायक प्र.अ दिपक सुवेदी:

हाम्रो विद्यालय जिल्लाको सबै भन्दा बढी विद्यार्थी भएको विद्यालय हो । विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थीहरु र ६५ जना शिक्षक छन् । नियमले के भन्छ थाहा भएन, तर जतिसक्यो धेरैदिन विद्यालय खोल्ने हो, विद्यार्थी संख्या बढाउने हाम्रो ध्यय हो । सामुदायिक विद्यालयमा वार्षिक ५० दिन विदाको सुविधा हुँदा हामीलाई दशैतिहारमा १५ दिन मात्र विदाको सुविधा हुन्छ । तपाँहरु ५० दिनलाई २० दिन विदा कटाएर ३० दिनमात्र सुविधा लिएर अध्यापन गराउन सक्नुहुन्छ ? सामुदायिक विद्यालयमा सरलाई स्यालरीको टेन्सन पनि छैन । अविभावकलाई हामीले बोलाउदा पनि आउनुहुन्न । उहाँहर आआफ्नै काममा ब्यस्त हुनुहुन्छ होला । यो वर्ष पनि लालीगुराँसको विद्यार्थीले जिल्लाभरीबाट उत्कृष्ट जिपिए ल्याएको छ ।

प्रतिक्रिया