बिपी कोइराला बायोग्राफी र समाजबाद 'एक- एक चम्चा दुध वितरण गर्नु समाजबाद होइन'

'बिपी कोइरालाले स्पष्ट भन्नु भएको थियो गरिबीको वितरण समाजबाद होइन । एक एक चम्चा दुध वितरण गर्नु समाजबाद होइन । औद्योगिक पुँजीबादको विकासबाट ठुलो पैमाना ( जग्गाजमिनको ठुलो मात्रालाई, विस्तारलाई सानो पार्न लिएको अनुपात) मा उत्पादन गरी न्यायोचित वितरण गरेर समाजबाद ल्याउन सकिन्छ । भूमीसुधार गरेर वास्तविक किसानलाई जग्गा वितरण गर्नुपर्छ ।'

नेपाली कांग्रेसका संस्थापनक नेता, नेपालको इतिहाँसमै पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसादा कोइराला :

जन्म : बि.सं १९७१ साल भदौ २४ गते भारतको वनासरमा भएको हो ।

मृत्यु : २०३९ साल साउन ६ गते ६८ वर्षको उमेर भएको थियो । 

परिवार 

बुवा कृष्ण प्रसाद कोइराला र माता दिब्या कोइरालाको  साइला सन्तानको रुपमा जन्मनु भएका कोइरालाको शुसिला कोइराला सँग विवाह भएको थियो । उहाँका तीन छोरा एक छोरी हुन् । छोराहरु प्रकाश कोइराला, हर्ष कोइराला र शशांक कोइराला हुन भने छोरी चेतना कोइराला हुन । 

 शिक्षा :

बि.सं १९८८ सालमा भारतको वनासरबाट उच्चमाध्यमिक शिक्षा पुरा गर्नु भएको थियो । वनारस हिन्दु विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तह सम्मको अध्ययन पुरा गर्नु भएको थियो । पछि कलकत्ता विश्वविद्यालयबाट कानून विषयमा स्नातकोत्तर पुरा गरेपछि दार्जेलिङमा कानून ब्यावसाय गर्नु भएको थियो । 

राजनीतिक जीवन (राजनीतिक नेतृत्व ) 

वि.पी कोइरालाको सक्रियतामा २००३ साल कार्तिक १५ गते वनारसमा बस्ने नेपालीहरुलाई संगठीत गरी देवी प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक संस्थाको स्थापना भएको थियो । 

बि.सं २००३ साल माघ १२ र १३ गते प्रवासी नेपालीहरु र नेपालको कारगार तोडेर आएका गणेशमान सिँह लगायत भारतमा बसोबास गर्ने नेपाली प्रतिनिधीहरुको उपस्थितिमा प्रथम महाधिबेशन सम्पन्न भएको थियो ।  भारतको कलकत्ता भवानीपुरमा भएको महाधिबेशनले संगठनको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस राखेको थियो । उक्त महाधिबेशनले ३३ वर्षिय वि.पी कोइराला कार्यकारी सभापतिमा चयन गरेको थियो । 

सुवर्ण सम्शेर राणाको सक्रियतामा बि.सं २००४ साल साउन १ गते नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो । 

२००६ साल चैत २७ गते भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको चौथो महाधिबेशन सम्पन्न गरेको थियो । नेपाली राष्ट्रिय कांग्रेसको चौथो महाधिबेशनमा नेपाल प्रजातन्त्र कांग्रेसका प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो । दुवै पाटीका सहभागी प्रतिनिधीहरुको उपस्थिती भएको बेलामा दुवै पार्टीलाई एकिकरण गरी नेपाली कांग्रेस नामको लोकप्रिय संस्थाको स्थापना गरिएको थियो । यो संस्थाले नै नेपालमा राणाहरुको एकतन्त्रीय राणाशासन ब्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको थियो ।

प्रजातन्त्र घोषणा तथा सरकार सन्चालन 

२००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र घोषणा भएपश्चात  श्री ३ महाराज मोहन सम्शेर ज.व.रा.  प्रधानमन्त्री तथा परराष्ट्र बन्नु भएको थियो भने  विश्वेश्वर प्रसाद कोईराला गृहमन्त्री बन्नु भएको थियो । 

२०१६ साल जेठ १३ गते नेपालको २२आँै तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । उहाँको कार्यकाल त्यति लामो हुन सकेन । २०१७ साल पुस १ गते सम्म  उहाँ प्रधानमन्त्री रहनु भयो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले आफ्नो विशेषाधिकार प्रयोग गरेर तत्कालीन संविधान र बिपी कोइराला नेतृत्वको सरकार विघटन गरेका थिए । त्यस पछि बिपी कोइरालालाई बिना मुद्दा कैद गरेको थियो ।    

जेलजीवन :

भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनमा लागेका कारण बेलायती सरकारले  बि.सं १९८६ सालमा  तीन महिना कैद गरेको थियो । 

२०१७ साल देखि २०२४ साल सम्म राजा महेन्द्रले बिना कुनै मुद्दा जेल हालिएको थियो ।

 २०२४ सालमा देशनिकाला गरी भारतको वनारसमा जान दिएको थियो । 

२०३२ सालमा उहाँ नेपाल फर्कनु भएको बेलामा सरकारले देशद्रोहको अभियोगमा कैदमा राखेको थियो । २०३४ सालमा उहाँ बिरुद्ध लगाइएका सबै अभियोगहरु फिर्ता गरेको थियो । 

२०३६ सालको आन्दोलनमा उहाँलाई आफ्नै निवासमा नजरबन्द गरिएको थियो । 

साहित्यमा योगदान : 

राजनीतिक सामाजिक योगदान सँगसँगै साहित्यमा पनि ठुलो योगदान गर्नुभएको छ । उहाँले उपन्यास, कथा जीवन लेख्नु भएको छ । 

उपन्यास :

तीन घुम्ती :‐ यो उपन्यासमा महिलाका तीन रुपमा चित्रण गरिएको छ । महिलालाई प्रेमीका, पत्नी र आमाको रुपमा चित्रण गरेर तयार पारिएको । 

सुम्निमा :‐ यो भिन्न संस्कृतिको समन्वय, समिश्रणको गाथाको रुपमा यस उपन्यासलाई लिइन्छ । यो उपन्यास मा प्रेमले मानिसलाई शारिरिक रुपले टाढा भएपनि मानसिक रुपले नजिक अनुभुत गराउछ भन्ने यसको सार हो । 

नरेन्द्र दाई :‐ नरेन्द्र दाई एक मनोबैज्ञानीक उपन्यास हो । एउटा पुरुषको पत्नी र प्रेमिका दुइ छुटा छुटै सम्बन्धको दुइ स्त्रिविचको कथा हो । दुइ भिन्न चरित्रका नारीको जीवन्त कथा नै नरेन्द्र दाई उपन्यासको  मुख्य सार हो । 

मोदिआइन :‐ हजारौ वर्ष अघिको महाभारतीय युद्धकथा यस उपन्यासको मुख्य कथा (विषयवस्तु) हो । युद्धको परित्याग र शान्तिको स्थापना यो उपन्यासको मुख्य सन्देश हो । बिपीको वस्तविक चिन्तन र विश्लेषण यस उपन्यासमा पाउन सकिन्छ । 

हिटलर र यहुदी :‐ जर्मन तानाशाह हिटलरले लाखौ निर्दाेष यहुदीहरुलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घट्नाको आधारमा यो उपन्यास तयार पारिएको छ । हिटलरले गरेको नरसंहार युद्ध भयङकरता देखाएर शान्ति नै मुल धार हो भन्ने कुरा देखाइएको छ । 

बावु आमा र छोरा :‐ आफ्नै छोराकी गर्भवती प्रेमीका बावुको दोश्रो बिहे भई बावुकी पत्नीको रुपमा स्थान लिएको यस उपन्यासमा भनिएको छ ।  यो उपन्यासमा भएजस्तो नेपाली समाजको त कुरै भएन  युरोपेली समाजमा पनि पाच्य हुने अवस्था नरहेको विश्लेषण छ । 

कथा : 

दोषी चस्मा :‐ यो मनोवैज्ञानीक कथा हो । यसमा उच्च ओहोदामा पुगेको मानिस र सामन्य मानिस विचको सम्बन्धको बारेमा प्रष्ट पारीएको छ । यस कथालाई दुइ तरिकाबाट विश्लेषण गर्न सकिन्छ । उच्च ओहोदामा पुगेको मानिसलाई चाकरी गर्नैपर्छ नत्र सामान्य मानिसले खान नै पाउदैनन् भन्ने यो कथाको मुख्या सार जस्तो बुझिन्छ । जुन  यस कथाका पात्र केशवराजले आफ्नी श्रीमती सँग गरेको गुनासोले प्रष्ट पार्दछ । 

अर्काे कुरा गाडीमा सवार जरसाहबले केशवलाई नदेखी हिड्नु, देखेर पनि नबोलाई हिड्नु, वास्ता नगरिनुले उच्च पदमा पुगेपछि मान्छे मातिन्छन र अरुलाई मान्छे गन्दैनन् भन्ने कथाको सार रहेको छ । 

श्वेतभैरवी 

   जीवनी 

आफ्नो कथा 

जेलजर्नल 

२००७ सालको परिवर्तन भएपछि भएका सुधारका प्रयासहरु :

तत्कालीन समयमा जम्मा विद्युत उत्पादन १.४ मेगावाट, ५१ माइल रेलमार्ग, ५० हजार हेक्टर जमिनमा सिँन्चाई सुविधा, ३०० वटा टेलीफोन लाइन, १०० वटा हुलाकी कार्यालय, १ वटा कलेज, ११ वटा माध्यमिक विद्यालय, र २०० प्राथमिक विद्यालय थिए । 

६ सय ४९ सैयाको अस्पतालमा ५० जना मात्रै डाक्टर थिए । देशको सम्पुर्ण स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गरिरहेका थिए । वित्तिय संस्थाको रुपमा नेपाल बैँक लिमिटेड मात्रै थियो । नेपाली रुपैयाको कम चलनचल्ती थियो भने तराईका जिल्लाहरुमा भारतीय रुपैयाको बढी प्रयोग हुने गरेको थियो । 

बिर्ता प्रथाको उन्मूलन गरियो । राजनीतिक, आर्थीक, धार्मिक क्षेत्रका मानिसहरुलाई पुरस्कार स्वरुप राज्यको जमिन बिर्ता दिइने चलन थियो । २५ रोपनी भन्दा बढी यस्तो जग्गा बिक्री गर्न वा धितो बन्धक राख्न नपाइने गरी हदबन्दी कायम गरियो । 

उत्पादकलाई मोहियानी हकको सुनिश्चत्ता गरियो । जमिन्दारले उत्पादनको अधाभन्दा बढी हिस्सा लिन नपाउने र साहुले १० प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था कायम गरिएको थियो । 

बिपीको समाजबाद 

बिपी कोइरालाले स्पष्ट भन्नु भएको थियो गरिबीको वितरण समाजबाद होइन । एक एक चम्चा दुध वितरण गर्नु समाजबाद होइन । औद्योगिक पुँजीबादको विकासबाट ठुलो पैमाना ( जग्गाजमिनको ठुलो मात्रालाई, विस्तारलाई सानो पार्न लिएको अनुपात) मा उत्पादन गरी न्यायोचित वितरण गरेर समाजबाद ल्याउन सकिन्छ । भूमीसुधार गरेर वास्तविक किसानलाई जग्गा वितरण गर्नुपर्छ । त्यसो गर्दा औद्योगिक विकासका लागि जगेडा श्रमशक्ति प्राप्त गर्न सकिन्छ । उत्पादनको विपुल्ता ( विशाल उत्पादन) लाई वितरण गरेर समाजबाद ल्याउन सकिन्छ भन्ने विचार थियो । तर पछिल्लो समय मानविय श्रममा आधारित मध्यमस्तरको प्रविधिको प्रयोगद्वारा उत्पादन गर्ने नीतिमा जोड दिनु भएको थियो । 

अमेरीका र यूरोपको प्रगती यसिया र अफ्रीकी देशहरुको कच्चा पदार्थहरुको उपभोगको कारणमात्र संभव भएको तर्क राख्दै, पुरै सन्सारले त्यति नै उपभोग गर्ने हो भने सन्सारको श्रोतले नपुग्ने तर्क थियो । त्यसैले उहाँले सादा जीवनको आवश्यक्तामा जोड दिएको पाइन्छ ।  

बिपीको समाजबाद र आजको सान्दर्भिक्ता 

नेपालको अर्थतन्त्र अझै पनि विदेशमुखी रहेको छ । बैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीले पठाएको रेमिट्यान्सले देश चलेको छ । नेपाललाई उत्पादन मुखी अर्थतन्त्र बन्न अझै निकै समय लाग्ने देखिएको छ । नेपालमा धेरै नागरिकहरु भूमिहिन छन् । उहाँहरुले अरुको (साहुको) खेतवारीमै काम गरेर आफ्नो र आफ्नो परिवारको जिविका चलाउनु पर्ने अवस्था छ । पहाडी जिल्लाहरुमा भूमीहिनको संख्या कम भएपनि तराईका जिल्लाहरुमा भूमीहिनको संख्या धेरै भएको समचारहरु आउने गरेका छन् । कतिपय नेपालीहरुलाई अझै पनि अरुकै जग्गा कमाएर खानुपर्ने अवस्था रहेको छ । नेपालको अहिलेको यो अवस्थालाई नियाल्दा बिपी कोइरालाको त्यो बेलाको समाजबाद आज पनि उत्तिकै सान्दर्भिक छ । उहाँको समाजबादको मुख्य थिम भनेको हरेक नेपाली परिवारको जमिन र त्यहाबाट उत्पादन हुने वस्तुको औद्यागीकरण बजारीकरणबाट आम्दानी गर्नु हो । कुनै जमिन खाली र बाँझो नराख्नु पनि थियो । आज युवाहरु रोजगारीका लागी विदेश पलायन भएका छन् । गाउँमै बसेर कृषी गर्ने युवाहरुले उत्पादन गरेका वस्तुहरुले बजार नपाउने समस्या, बजार पाईहाले पनि उचित मुल्य नपाउने समस्याका कारण निर्वाहमुखी खेतीमै सिमित छन् । 

(लेखक: राजकुमार कार्की नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष हुनुहुन्छ ।)


प्रतिक्रिया