नेपाली कांग्रेसको पहिलो विशेष महाधिवेशन २०१४ मा के भएकाे थियो

  

पुस २९ । नेपाली कांग्रेसको २०१२ साल मंसिरमा बीरगञ्जमा छैँठौ महाधिवेशन सम्पन्न भएको थियो । छैँठौ महाधिवेशन  भएको  करिब दुईवर्ष पछि २०१४ सालमा विशेष महाधिवेशनको तयारी भयो । आन्तरिक कलह र बिवादका कारण नेपाली कांग्रेसको विशेष महाधिवेशन विराटनगरमा सम्पन्न गरिएको थियो । २०१२ सालमा भएको छैठौ महाधिवेशनमा गणेशमान सिंह र सुवर्ण समशेरबीच सभापतिको प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा निर्वाचित भएका सुवर्णशमशेरले १७ फागुन २०१२ मा आफ्नो कार्यसमिति चयन गर्नुभएको थियो । महाधिवेशनको सम्पन्न भएपछि बीपी कोइराला, सुवर्णशमशेर सहितका नेताहरु देशदौडाहामा निस्केका थिए ।

नेपाली कांग्रेसको बीरगञ्जमा महाधिवेशन भईरहेको बेलामा राजा महेन्द्रले प्रजातान्त्रिक लिगका सदस्य, नेपाल प्रजापरिषदका नेता टंक प्रसाद आचार्यको नेतृत्वमा मन्त्रिमण्डल गठन गरेका थिए । त्यसैगरी चुनावको मिति समेत हेरफेर गर्ने कार्यले राजाले चुनाव नगराउने हुन् की भन्ने शंका कांग्रेसमा थियो ।  कांग्रेसले देशदौडाहा गरिरहेकै समयमा राजालाई चुनाव गराउन दवाब समेत दिन थालेका थिए । राजा सँग भएको दरार र आन्तरिक कारण सभापति सुवर्णशमशेरले आफ्नो कार्यसमिति २०१३ मंसिर १४ गते भङ्ग गरे । र २०१३ पुस ३ गते दोश्रो पुस्ताका नेताहरुलाई समेटेर केन्द्रीय समिति गठन गरिएको थियो ।

२०१३ चैत ८ मा राजविराजमा भएको २ दिने जिल्ला सभापतिहरुको सम्मेलनले विशेष महाधिवेशन गर्ने प्रस्ताव पारित ग¥यो । सम्मेलनको अन्तिम दिन सुवर्णशमशेरले विराटनगरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित ग¥यो । जिल्ला सभापतिहरुको भेलाले पारित गरेको विशेष महाधिवेशन २०१४ साल जेठ १०÷११ दुइदिन सम्म चलेको थियो ।  उक्त विशेष महाधिवेशनले बीपी कोइरालालाई सर्वसम्मत सभापति चयन ग¥यो भने अन्य तपसिल अनुसारको कार्यसमिति बन्यो ।

सभापति : विश्वेश्वर प्रसाद कोइराला

महामन्त्री : विश्बन्धु थापा

महामन्त्री : तुलसी गिरी

कोषाध्यक्ष : सुवर्णसमशेर जबरा

सदस्यहरु : कृष्ण प्रसाद भट्टराई, श्रीभद्र शर्मा, रुद्र प्रसाद गिरी, धनमानसिंह परियार, गोपाल प्रसाद उपाध्याय भट्टराई, ह्ृदयराज शर्मा, गणेशकुमार शर्मा, मातृका प्रसाद कोइराला, रामनाराण मिश्र, परशुनारायण चौधरी, सुर्य प्रसाद उपाध्याय, गणेशमान सिंह लगायत २४ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियो ।

विभिन्न मितिमा प्रकाशित लेखहरुको अध्ययन गर्दा नेपाली कांग्रेसको आफ्नै आन्तरिक कलहको फाइदा उठाउँदै राजा महेन्द्रको कांग्रेसमाथीको अघोषीत हस्तक्षेपका कारण सुवर्णशमशेरले आफ्नो कार्यसमिति भंग गरेको हुनसक्छ । 

विशेष महाधिवेशन विराटनगरको तुलाराम नगरमा भएको थियो । मजदुर आन्दोलनमा कांग्रेस कार्यकर्ता तुलराम तामाङ मारिएका कारण उक्त ठाउँलाई कांग्रेसले तुलराम नगर नामाकरण गरेका थिए ।

प्रतिक्रिया