कुलीङ अफ पिरियडमा कांग्रेस तीन नेताको चेतावनीः संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउन सक्छ


राजकुमार कार्की

 साउन ६ । नेकपा एमालेका सांसदले राष्ट्रिय सभामा पेश गरेको कुलीङ अफ पिरियडको संशोधन प्रस्ताव फिर्ता नलिए गठबन्धनमा दरार आउन सक्ने कांग्रेस नेताले चेतावनी दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइराला र प्रवक्ता प्रकाशशरण महतले कुलीङ अफ पिरियडमा एमालेको व्यवहार प्रति सशंकित भएको अभिब्यक्ति दिएका हुन ।

मंगलबार कुलीङ अफ पिरियड बारे बोल्नेक्रममा राष्ट्रिय सभामा एमाले सांसदले पेश गरेको संशोधन प्रस्ताव फिर्ता नलिए गठबन्धनमा नै संकट आउन सक्ने चेतावनी दिएका छन् । एमालेका पाँच सांसदले  कुलीङ अफ पिरियडमा संशोधन प्रस्ताव राखेपछि साझेदार दल नेपाली कांग्रेस सशंकित भएको छ । ४३ औ बिपी स्मृति दिवसमा बोल्दै महामन्त्री शर्माले प्रतिनिधी सभाबाट भएको कुलीङ अफ पिरियड सम्बन्धिको गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउनुपर्ने बताउनु भयो । कुलीङ अफ पिरियड हटाउन एमालेले गरेको प्रयासले दुर्घटना निम्तिन सक्ने भएकाले सचेत रहन एमालेलाई शर्माले आग्रह गर्नुभयो । मंगलबार नै बीपी स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै, डा.शेखर कोइरालाले कुलीङ अफ पिरियडमा एमालेले देखाएको ब्यवहार प्रति असन्तुष्ट रहेको बताउनु भयो । विधेयकका प्रावधान सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलीङ पिरियड हटाउन संशोधन प्रस्ताव हालेर कांग्रेसको मूल्यमान्यता माथी नै आक्रमण भएको बताउनु भयो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कुलीङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले अब कम्परमाइज गर्न नसक्ने बताउनु भएको छ । एमालेका सांसदले कुलीङ पिरियड हटाउनु पर्ने माग राख्दै पेश गरेको संशोधन प्रस्ताव प्रति महतले आपत्ति जनाउनु भयो । महतले भन्नुभयो; ‘यो समितिबाट सर्वसम्मतरुपमा अगाढी बढेको हो । यसमा कांग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलीङ पिरियड लागु हुनैपर्छ ।

प्रतिक्रिया