झगनखबर
पुस २३ । विकासको पुर्वाधार मानिएको सडक
निर्माणमा स्थानीय सरकारले प्राथमिक्ता दिईरहेका छन् । आफ्नो पालिका क्षेत्रभित्र
सडक निर्माण गर्न स्थानिय सरकारले प्राथमिक्ता दिईरहेका हुन् । झट्ट हेर्दा विकास
गरेको पनि देखिने, नागरिकलाई पनि यातायातमा सजिलो हुने भएकाले सडक निर्माणमा स्थानिय सरकार
जुटीरहेका छन् । स्थानिय तहका प्रायः सबै वडाहरुमा कच्चि सडक सन्जाल विस्तार
भईसकेका छन् । स्थानीय तहको निर्वाचन सँगै स्थानीय तहमा आएको विकास बजेटको करिब ५०
प्रतिशत भन्दा बढी बजेट सडक निर्माणमै खर्च गरेका छन् । अहिले पनि करिब विकास
बजेटको २५ देखि ३० प्रतिशत बजेट सडक निर्माण र मर्मतमा खर्च गर्ने गरेका छन्
। कतिपय वडामा निर्माण गरिएका कच्चि सडकमा
गाडी गुड्न सक्ने अवस्थाका छन् भने कतिपय सडकमा भने यातायातका साधन ओहोर दोहोर
गर्न नसक्ने अवस्थामा रहेका छन् । स्थानिय सरकारले अध्ययन नगरी बग्रेल्ती सडक
निर्माण गरिनुले सबै सडकहरु प्रयोगमा आउन नसकेको स्थानीय जानकारहरु बताउछन् । यता, सबै नागरिकको माग सडक
निर्माणमै आउने भएकाले सडक निर्माणमा बजेट छुट्टयाउनु पर्ने बाध्यता रहेको स्थानीय
सरकारको भनाई रहेको छ ।
स्थानीय सरकार बनेको
करिब ६ वर्ष पुरा हुनै लाग्दा स्थानिय सरकारको केन्द्र देखि वडासम्म कच्चि सडक
सन्जालको विकास भईसकेका छन् । यसरी द्रुतर गतिमा भएको सडक विस्तारमा साना गाडीहरु
मात्रै गुड्न सक्ने अवस्थाका छन् । बस ट्रक गुड्न सक्ने सडक भने नगन्य रुपमा मात्र
रहेका छन् । वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक भए पनि दुख–सुखले साना गाडीहरु
गुडीरहेका छन् । बिरामी भएको बेलामा नागरिकले एम्बुलेन्स वा भाडाको गाडी (रिजर्भ)
प्रयोग गर्ने अवस्थामा पुगेका छन् । धेरैजसो सडकहरु हिउँदको समयमा मात्र सन्चालन
हुने गर्दछन् । वर्षाको समयमा ठप्पै हुने गरेका छन् ।
ओखलढुंगा जिल्लामा
सात वटा गाउँपालिका र एउटा नगरपालिका सहित आठ वटा स्थानिय तह रहेका छन् ।
सिद्धिचरण नगरपालिका, मोलुङ्ग गाउँपालिका, खिजीदेम्बा गाउँपालिका, लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका, सुनकोशी गाउँपालिका, मानेभञ्ज्याङ्ग
गाउँपालिका र चिशंखुगडी गाउँपालिका रहेका छन् । जिल्ला सदरमुकाम देखि पश्चिममा
पर्ने गाउँपालिका लिखु र खिजीदेम्बाबाट सदरमुकाम आउन– जान भने अझै सहज
नभएको त्यहाँका स्थानिय नागरिक बताउछन् । लिखु गाउँपालिकाका प्रायः सबै वडाका
नागरिकहरु रामेछापको सडक प्रयोग गरेर रामेछापको मन्थली हुँदै खुर्काेटबाट बसको
लामो यात्रापछि मात्र सदरमुकाम आउन–जान बाध्य छन् । त्यसै गरी खिजीदेम्बाका
नागरिक पनि रामछापको सडक नै प्रयोग गर्न बाध्य छन् । त्यहाँका नागरिकलाई सदरमुकाम
आउन–जान भन्दा संघिय
राजधानी काठमाण्डौ जान–आउन सजिलो भएको बताउछन् ।
पालिका केन्द्र देखि वडा
सम्म सडक सन्जाल जोडिए पनि यातायात भने सन्चालन हुन सकेका छैनन् । नागरिकहरु
पालिकामा सेवा लिनको लागि पैदल यात्रा नै गर्नु पर्ने बाध्यता रहेको छ । स्थानीय
रुपमा सन्चालन हुने नियमित यातायातका साधन नहुँदा नागरिकहरु भने सडकै सडक हिडेर
पालिका केन्द्र सम्म पुग्ने गरेका छन् । सिद्धिचरण नगरपालिकाको केन्द्र सदरमुकाममा
भएकाले यहाँका नागरिकले भने केहि यातायातको साधन प्रयोग गरेर आउन जान सक्ने अवस्था
रहेको छ । तर सात वटा स्थानिय तहका वडा देखि पालिका केन्द्रसम्म यातायातको सुविधा
नरहेको स्थानिय बासीको भनाई रहेको छ ।
२०६९ सालमा घुर्मीको
सुनकोशीमा पक्की पुल निर्माण भएपछि ओखलढुंगा, सोलु र खोटाङ्ग जिल्लालाई सहज भएको थियो ।
तर गाउँगाउँमा सडकको पहुँच थिएन । गाउँका नागरिकहरु लामो समयको पैदल यात्रा गरेर
सदरमुकाम आएर यातायातका साधन प्रयोग गरेर राजधानी जाने आउे गर्दथे । तर अहिले
संघिय राजधानी काठमाण्डौ देखि जिल्लाका सबै पालिकाका विभिन्न स्थानसम्म यातायातका
साधन (यात्रुबाहक बस) सन्चालन भईरहेका छन् । कार्यकारी सरकारको रुपमा स्थानिय
सरकार आएपछि यातायातको क्षेत्रमा ठुलो परिवर्तन भएको छ । ‘अधिकाँस सडकहरु
साँघुरा,
ग्रेड नमिलेकाले यायातका साधन सन्चालन गर्न कठिन भएको हो । अबका
दिनमा नयाँ सडक बनाउने भन्दा पनि भएका सडकको स्तरोन्नती गरी नियमित यातायात
सन्चालन गर्न सक्ने सडको निर्माण गरिनु पर्ने स्थानिय बासीको भनाई छ ।’
गणतन्त्र प्राप्ति
सँगै विकेन्द्रीकृत राज्य सन्चालन प्रकृया अन्तर्गत तिन तहको सरकारको व्यवस्था
गरिएको छ । नेपालको संविधान २०७२ ले स्थानिय सरकार, प्रदेश सरकार र संघिय
सरकार गरी तिन तहको सरकारको ब्यवस्था गरेको हो । नागरिकको सबै भन्दा नजिकको
सरकारको रुपमा स्थानीय सरकार रहेको छ । पुरानो संरचना गाउँविकास समितिलाई गाभेर
नगरपालिका र गाउँपालिका बनाइएको छ । पहिला ५६ वटा गाउँविकास समिति रहेको यस
जिल्लामा अहिले ८ वटा स्थानिय तह बनाइएको छ ।
८ वटा स्थानिय तहको लागि समानुपातिक ढंगबाट भाग
लाउदा ७ वटा गाविसहरु पर्दछन् । तर त्यसो नगरी सबैलाई पायक पर्ने हिसाबले कम र बढी
गाविसहरु गाभेर स्थानीय तहको निर्माण गरिएको हो । पहिलाका गाविसहरुलाई अहिलेको
स्थानिय तहको वडाको रुपमा विकास गरिएको छ । कतिपय एउटा गाविसलाई एउटा वडा बनाईएको
छ भने एउटा गाविसलाई दुइवटा वडा सम्म
बनाइएको छ । नागरिकका हरेक समस्याको नजिक रहेर काम गर्नु पर्ने स्थानिय
सरकारले केहि हदसम्म पुरा गरेको देखिन्छ । नगरपालिका र गाउँपालिकाका प्रमुखहरु, स्थानिय सरकारको
प्रमुखको भएर काम गरिरहेका छन् । आफैँले कानुन बनाएर काम गर्न सक्ने अधिकार
प्राप्त स्थानिय सरकार, ‘कार्यकारी सरकार हो ।’