वैशाख १३ । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा
क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्
। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन्
। यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत
पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मत ल्याएका थिए ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १०
हजार २१६ मतसहित तेस्रो भए । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता
पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको
कार्यालयले जनाएको छ ।
गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष
डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव अन्ततः उपचुनावबाट
सांसद बन्न सफल भएका छन् । बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति
बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो ।