३० असोज । स्थानिय तह निर्वाचन २०७९ मा उम्मेदवार भई तोकिएको समयावधी भित्र निर्वाचन खर्च विवरण नबुझाएका, समानुपातिक बन्दसुचिमा नाम भएका उम्मेदवारहरुले कार्तिक ५ गते सम्म जरिवाना रकम बुझाई आफ्नो उम्मेदवारी कायम राख्न पाउने भएका छन । निर्वाचन आयोगको २०७९ असोज ३० गते बसेको बैठकले स्थानिय तह निर्वाचनमा उम्मेदवार भई जरिवाना तोकिएका उम्मेदवारलाई राजनितिक दलले प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सुचिमा नाम पठाएको भए २०७९ कार्तिक ५ गते कार्यालय समय भित्र जरिवाना रकम बुझाउन सक्ने निर्णय गरेको हो । स्थानिय तह निर्वाचनमा उम्मेदवार भई आयोगले तोकेको समयावधी भित्र खर्च विवरण नबुझाउनेहरुलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम जरिवाना गर्ने निर्णय २०७९ भाद्र ३१ गते गरेको थियो । यो समय भित्र पनि जरिवाना वापतको रकम नबुझाएमा प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूची बाट नाम हटाउन समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।