साउन २३ । भारतले सेन्ट्रल एसियन भलिबल
एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको फाइनल खेलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५ र ५
को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेलको पहिलो सेट नेपालले जितेको थियो ।
करिब ३० मिनेट चलेको उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा
पार्यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई
सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले
लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।
खेलको दोस्रो सेट भने नेपालले गुमायो ।
करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित
निकाल्यो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले
२५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै
२५–२१ ले आफ्नो पक्षमा पार्यो ।