सरकारी जागिर सँगै फस्टाएको किवी खेती


 भदौ १८ । दिनभरी कार्यालयको काम विहान वेलुका निकालेको फुर्सदको समयको सदुपयोगले खुशी दिलाएको छ । गरे के हुदैन ! भन्ने  नेपाली उखानलाई बालकुमार खनालले आफ्नो व्यवहारमा उतार्नु भएको छ । सरकारी पोषाक लगाएर दिनभरी कार्यालयमा काम गर्ने खनाल अरु भन्दा फरक हुनुहुन्छ । विहान वेलुकाको समय  कट्टु र भेष्ट लगाएर खेत बारीमै ब्यस्त हुनुहुन्छ । विरुवा हुर्कीसकेर लटरम्म फलेका किवी, ड्रागनफुड हुर्किदै गरेका कागती, सुन्तला, एबोकार्ड, बुद्धचित्त लगायतका बिरुवाको हेरचाहमै समय बितेको छ ।



साबिक नारायणस्थान गाउँविकास समिति वडा नं ४, हाल सिद्धिचरण नगरपालिका वडा नं ३ स्थित आफ्नै जग्गामा फलफुल खेती गर्नु भएको छ । ७ वर्षदेखि शुरु भर्नुभएको फलफुल खेतिले अहिले भने मनग्य आम्दानी दिन थालेको छ । विहान वेलुका खटेर गरिएको फलफुल खेतिले मनग्य आम्दानी दिन थालेपछि बालकुमार खनाल निक्कै खुशी हुनुहुन्छ । सिजनअनुसार अहिले ड्रागनफुड र किवीमा राम्रो फल लागेको छ । करिब १२ रोपनी भन्दा बढी जग्गामा फलफुल लगाउनु भएको छ । यो भन्दा अगाडी व्यावसायिक रुपमा पशुपालन पनि गर्नु भएको थियो । अहिले भने बाख्रापालन र फलफुल खेतिमात्र गर्नु भएको छ । उहाँलाई उहाँको म्याडमले सहयोग गरिरहनु भएको छ ।

उहाँ नेपाल सरकारको कर्मचारी हुनुहुन्छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको कार्यालय प्रमुख भएर काम गरिरहनु भएको छ । घरबाट करिब आधा घण्टा मोटरसाइकल यात्रामा कार्यालय पुग्न सकिन्छ । कार्यालयको समय सकिएपछि कतै नअलमलिई घरमा पुग्नुहुन्छ र खेतबारीमै आफ्नो समय खर्च गर्नुहुन्छ । हेर्दा पनि गरेजस्तै भएको छ, यतिखेर लटरम्म फलेको किवी र ड्रागनफुडले जो कोहिको पनि मन लोभ्याउने गरेको छ । किवीको छहारी (माच) मुनी बसेर हेर्ने हो भने रहरलाग्दो गरी  किवी फलमात्र देखिन्छन् । 


कोदो मकैको खेति गर्न नसकेर र आफुलाई फलफुल खेति पहिला देखि नै मन पर्ने भएकाले फलफुल खेती शुरु गरेको हुँ । कोदो मकैको खेती गर्न समयमा मान्छे नपाउने समस्या उहाँलाई मात्रै होइन पहाडी जिल्लाका सबै किसानको समस्या भएको छ । युवाजति सबै रोजगारीका लागि विदेशतिर, गाउँमा भएका थोरै मानिसले आफ्नो घरायसी काम गर्न नै भ्याउदैनन् । कोदो मकैको खेती गर्न धेरै समय र बल खर्च गर्नुपर्ने हुन्छ । तर गाउँमा काम गर्ने मान्छेको अभावमा धेरैको जग्गा बाँजो रहेको छ । कोदो मकैको खेती गर्न  काम गर्ने मान्छे नपाउने र  आफुले मात्रै गर्न नभ्याउने भएकाले फलफुल खेती शुरु गरिएको खनालले बताउनु भयो ।

रेडकिवी, हेवार्ड, एलीशन, ब्रुनो जातका किवी लगाउनु भएको छ । रेडकिवी अली छिटो पाक्छ भने अरु जातका किवी अलि ढिलो पाक्ने गरेको छ । रेडकिवीमा बाहिरी झुस हुदैन भने अन्य जातको किवी फलमा बाहिर झुस हुने र भित्री भागमा हरियो हुनेहुन्छ । किवी फल वर्षमा एकपटक मात्र फल दिने गर्छ भने ड्रागनफुडले वर्षमा ६ लडसम्म फल दिने गरेको छ । सुरुसुरुमा उत्पादन भएको फल बिक्री नहुँदा दिक्क लागेको थियो तर अहिले भने बिक्रीमा समस्या छैन । स्थानिय बजार, विराटनगर, काठमाण्डौ लगायतका बजारहरुमा बिक्री भईरहेको छ । फल दिन थालेको शुरु शुरु वर्षमा चाहिँ विक्री नभएर रक्सी बनाउनेलाई पनि दिन परेको थियो । तर अहिले भने नबिक्ला की भनेर चिन्ता लिनु पर्ने छैन । सबै ठाउँमा किवी लगायतका फलफुल खेती गर्ने भएकोले उचित मुल्य पाउन मुस्किल छ । तर पनि कम मुल्यमै भएपनि खेर फाल्नु नपरेको बताउनु भयो ।

१८ लाख भन्दा बढी लगानी फसाई सक्नु भएका खनालले गुनासो गर्नुभयो, ‘नजानेर बढी खर्च गरेको रहेछु पछिमात्र थाहा भयो आवश्यक्ता भन्दा बढी चिजमा खर्च भएछ । अहिले फ्रुटफ्लाईले धेरै दुख दिएको छ, रेडकिबीमा फ्रुटफ्लाईले बढी दुख दिदो रहेछ । जति औषधी प्रयोग गरेपनि यसलाई नियन्त्रण गर्न सकिएन । अरु फलफुलमा नियन्त्रण भयो तर किवीमा भने नियन्त्रण हुन सकेन ।उत्पादन गर्नुअगाडी बजारको अध्ययन गरेर मात्रै उत्पादन शुरु गर्न उहाँको सुझाव छ । शुरुका दिनमा उत्पादनले बजार पाउन निकै कठिन भयो । बजार खोज्नलाई मलाई निकै समस्या भएको थियो । व्यवासायिक खेती गर्नको लागि पहिले बजारको सुनिश्चित्ता गरेर मात्रै उत्पादन शुरु गर्न अन्य कृषकलाई सुझाव छ ।

किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पु¥याई विक्रीवितरण गर्न राज्यले सहयोग गर्नुपर्ने उहाँको धारणा छ । किसानले उत्पादन गरेर हचुवाको भरमा बेच्नु पर्दा मुल्य नपाउने, फाइदा लिनुपर्ने ठाउँमा घाटा खाएर बेच्नु पर्ने बाध्यता छ । उत्पादन गरेका वस्तु उचित मुल्यमा बिक्री गर्नका लागि राज्यले चिस्यानकेन्द्रको व्यस्था गर्नुपर्दछ । चिस्यानकेन्द्रमा राख्न सक्ने व्यवस्था हुने हो भने विक्री नभएका बेला चिस्यानकेन्द्रमा राखेर खटाई खटाई बेच्न सकिन्थ्यो । तर अहिले अरुकै मुल्यमा बिक्री गर्न बाध्य छौँ । त्यसै कुह्वाएर फाल्नु भन्दा थोरै भए पनि हुन्छ भन्ने आशाले सामान्य मुल्यमा पनि बिक्री गर्न बाध्य भएको गुनासो छ ।

 

प्रतिक्रिया