२५ पुस, काठमाडौं । सरकारले पृथ्वी
जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको
मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राप्रपाले
सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन २७ पुसमा सार्वजनिक विदा दिनुपर्ने
अडान राखेको थियो । विश्वासको मत लिई सरकारलाई पुर्णता दिनुपर्ने
बाध्यात्मक अवस्थाका कारण राप्रपाको माग स्वीकार गरेको हो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा
कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा
कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ । टुक्रा टुक्रा रहेको
विभिन्न राज्यलाई पृथ्वीनारायण शाहले एकीकरण गरी नेपाललाई सिङगो राज्य बनाएको
इतिहास छ । एकताको प्रतिकका रुपमा पुस २७ गते पृथ्वीजयन्ती मनाउने र सार्वजनिक
विदा दिने चलन पहिले देखि थियो । ०६२, ०६३ को जनआन्दोलन र बृहत शान्तिसम्झौता पश्चात
प्रचण्डको मागअनुसार पृथ्वीजयन्ती मनाउन छाडीएको थियो । लगभग १६ वर्ष पछि उनै
प्रचण्डले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।