नेपाल र कतारबीच आठ सम्झौता र समझदारी


झगनखबर

बैशाख १३ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसम्बन्धी विभिन्न आठ विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन बुधबार सम्झौता तथा समझदारी  भएको हो ।

  नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डर कतारको तर्फबाट अमिर तमिम सहितको प्रतिनिधि मण्डलबीच भएको द्विपक्षीय वार्तापछि नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा एक सरकारी, एक निजी सम्झौता र ६ समझदारी भएका हुन् ।

दुई देशबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएका छन्  ।

नेपाल-कतार बीचमा भएका  सम्झौताहरू

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र

२. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता

३. नेपाल सरकार र कतार राज्यको सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयु)

४. नेपाल सरकार र कतार राज्यको सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबीच सहयोगका लागि समझदारी पत्र

६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आइएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र

७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्नेसम्बन्धी सम्झौता

८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रको नवीकरण

 कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार अपराहृन स्वदेश फर्किनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ व्यक्तिहरूले तमिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गर्नुभएको थियो ।

 

प्रतिक्रिया