कातिक १३ । कात्तिक १८ गते आइतबार
रहेको भाइटीकाको शुभ साइत बिहान ११ः३७ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक
विकास समितिले सोमबार साइतको बारेमा जानकारी गराएको हो । भाइटीकाका दिन दिनभर दिदी
बहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि ११ः३७ बजेको साइत
दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । राज्य
सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।
नेवार समुदायले मनाउने किजापूजा पनि त्यसैदिन गर्नुपर्ने समितिले जनाएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार १३
गते मंगलबार देखि सुरु हुँदै छ ।मंगलबार
धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गते बुधबार
परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका
प्रवर्तक धनवन्तरी जयन्ती पनि बुधबार नै मनाइन्छ ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक
१५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन भने
तिहारको कुनै पर्व नपरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवद्र्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी, कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।
