२०८० साल साउन महिनाको मासिक राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो,

मेष राशिलाई साउन महिनामा केही चुनौती आइपर्ने सम्भावना छ। अरूको उक्साहटमा लाग्दा व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। महत्त्वाकांक्षाले आर्थिक जोखिम तथा परिवारमा विग्रह निम्त्याउने सम्भावना छ। कृषि तथा पशुपालनमा नयाँखाले समस्या आउन सक्छ। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो र दमको समस्याले सताउने सम्भावना छ। रोकिएका काम थाल्न हतार नगर्नुहोला। पहिलेका काममा समस्या देखिए पनि नयाँ कामतर्फ अग्रसर बन्ने समय छ। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। गुरुजनको सहयोगले अध्ययनमा उचाइको मार्ग अवलम्बन गर्न सकिनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन प्रगाढ बन्दै जानेछ।

वृष  : , , , , वा, वि, वु, वे, वो

वृष राशिलाई साउन महिना निकै उत्साहवर्द्धक रहनेछ। बल, पराक्रम, तेज बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। रोकिएका काम सजिलै सम्पादन हुनेछन्। पेसाव्यवसायमा मनग्य फाइदा हुनेछ। महत्त्वाकांक्षी काममा हातहाल्ने समय छ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। भौतिक स्रोतसाधन जुट्नेछन्। आँटेका काममा दाजुभाइले साथ दिनेछन् र सहयोगी फेला पर्नेछन्। र भाग्यले साथ दिनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल भने बिग्रन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला।

 मिथुन : का, कि, कु, , , , के, को हा

मिथुन राशिलाई साउन महिनामा केही चुनौती आउनेछन् र आत्मसम्मानका लागि संघर्ष हुनेछ। सम्भावना देखिए पनि उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ला। बुद्धिको उपयोगले बिस्तारै काम सम्पादन हुनेछन्। अध्ययन र लेखनतर्फ सामान्य प्रगति हुनेछ। पेसाव्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा उठाउन सकिनेछ। ठूलो उपलब्धि नभए पनि नयाँ काम थालनी गर्ने समय छ। स्रोतसाधन र मूल्यवान् उपकरण समेत संग्रह गर्न सकिनेछ। गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ। मिहिनेत गर्दा अवसर जुट्नुका साथै नयाँ योजना थाल्न सकिनेछ। बिस्तारै नाम, दाम र इनाम पनि हासिल गर्न सकिनेछ। बाध्यात्मक परिस्थितिले बेलाबेला समस्या पनि निम्त्याउनेछ।

 कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कर्कट राशिलाई साउन महिनामा महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। टाउको दुखाइ र आँखाको समस्याले सताउनेछ। अधैर्य व्यवहारले साथीभाइ टाढिनेछन्। वादविवाद र चोटपटकको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। महिनाको दोस्रो सातादेखि स्थिति अनुकूल बन्दै जानेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नेछन् र मिहिनेतले उत्साह जगाउनेछ। पेसाव्यवसायमा सुधारका लक्षण देखिनेछन्। असफलताको विगतलाई सफल भविष्यमा रूपान्तरण गर्न सकिनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने लेखनकलामा निखारता आउनेछ। मिहिनेतले धन उपार्जन गर्दै बहुमूल्य आभूषण र उपकरण संग्रह गर्न सकिनेछ।

 सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह राशिलाई साउन महिना केही संघर्षमय रहनेछ। हडबडमा बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। विवादास्पद काममा हातहाल्दा व्यर्थैमा आलोचित भइनेछ। अधिक खर्च हुनाले अभाव सामना गर्नुपर्ला। परिस्थिति अनुकूल नभएसम्म कार्ययोजना अघि नबढाउनुहोला। उधारो व्यापारले आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। पेसाव्यवसायमा लगानी जुटाउन नसक्दा आयस्रोत कमजोर बन्नेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारो परिस्थिति आउँदा आफ्नैले साथ दिन छाड्नेछन्। यात्राको उद्देश्य प्राप्त नभई दुःख मात्र पाइनेछ। नियमित काम गर्न सकिनेछ तर नयाँ काममा जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला।

   कन्या : टो, पा, पि, पु, , , , पे, पो

कन्या राशिलाई साउन महिनाभरि सूर्यनारायण आयभावमा रहने हुँदा लक्ष्मीको कृपा रहनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत बढ्नेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुन सक्छ। पेसाव्यवसायमा मनग्य फाइदा हुनेछ। कृषि तथा पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। काममा फाइदा भए पनि अध्ययनमा पछि परिनेछ। सोख एवं महत्त्वाकांक्षाले खर्च बढाउने हुँदा धन सञ्चय नहुन सक्छ। अस्वस्थ प्रतिस्पर्धामा उत्रँदा नोक्सानी बेहोर्नुपर्ला। भौतिक साधनमा पनि क्षति पुग्न सक्छ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला।

 तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

तुला राशिलाई साउन महिनामा विशेष अवसर प्राप्त हुनेछन् र कर्मयोगले उचाइमा पुर्याउनेछ। तारिफयोग्य काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। दिगो काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानप्राप्ति हुन सक्छ। पेसाव्यवसायमा मनग्य फाइदा हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। घरमा मंगलमय कार्य सम्पादन हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। व्यापारमा थन्किएका वस्तुसमेत बिक्री हुनेछन्। कृषितर्फ उत्पादन बढ्नाले मनग्य फाइदा हुनेछ। अध्ययनमा पछि परिने समय छ, मिहिनेत गर्नुहोला।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

वृश्चिक राशिलाई साउन महिना केही संघर्षमय रहनेछ। समयमा आलस्य गर्ने प्रवृत्तिले काममा पछि परिनेछ। पूर्वाधार कमजोर हुनाले व्यवसायमा चुनौती आइपर्नेछन्। तापनि सम्भावनाका बाटाहरू फेला पर्नेछन्। तर स्थितिमा सुधार ल्याउन बलपूर्वक प्रयत्न गर्नुपर्ला। समाजका अगुवासँग प्रतिस्पर्धा हुनेछ। खर्च लागे पनि स्रोतसाधन जुटाउन सकिनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। प्रयत्न गर्दा नयाँ कार्य थालनी हुनेछ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै मनग्य अर्थलाभ हुनेछ र जीवनशैलीमा पनि क्रमशः सुधार आउनेछ। अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला।

 धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

धनु राशिलाई साउन महिना केही चुनौतीपूर्ण रहनेछ। स्वास्थ्यमा पनि समस्या देखापर्नेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रन सक्छ। व्यापार तथा आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश गुम्न सक्छ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ। व्यवहारमा केही जटिल समस्या आउनेछन् तापनि नियमित काम गर्न सकिनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूको साथसहयोग जुट्न सक्छ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। लगनशील बन्दा अध्ययनमा भने लक्ष्य प्राप्त गर्न सकिनेछ।

   मकर : भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

मकर राशिलाई साउन महिना केही उतारचढावमय रहनेछ। परिवेश रमाइलो देखिए पनि व्यवहारमा समस्या आइरहनेछन्। कामको चाप बढ्नेछ। यात्रा, भोगविलास र भेटघाटमा अधिक खर्च हुनेछ। अवसर आए पनि समय दिन नसक्दा पेसाव्यवसाय कमजोर बन्नेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीको मूल्यांकन कमजोर बन्न सक्छ। पारिवारिक माहोल पनि अशान्त बन्न सक्छ। चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ। नोकरी तथा व्यवसायमा केही झमेला आउन सक्छ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। पहिलेको उपलब्धि जोगाउन सकिनेछ। तर अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला।

   कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

कुम्भ राशिलाई साउन महिना राम्रै उपलब्धिमूलक रहनेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। पहिलेका मुद्दा र विवाद सम्झौतामा टुंगिनेछन्। मिहिनेत गर्दा सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। स्रोतसाधन जुट्नुका साथै आँटले काम सम्पादन हुनेछन्। पेसाव्यवसायमा फाइदा हुनेछ। सेयर लगानी, किनबेच तथा साझेदारीमा पनि राम्रो लाभ हुनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। प्रियजन र सहयोगीहरूलाई भने खुसी पार्ने प्रयास गर्नुहोला। यात्रा त्यति सुखद नहुन सक्छ, आवश्यक परे शुभमुहूर्तमा घरबाट निस्कनुहोला। आतिथ्य र मनोरञ्जनमा अधिक रकम खर्च हुनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि दिगो कामतर्फ नयाँ अवसर प्राप्त हुनेछ।

 मीन : दि, दु, , , , दे, दो, चा, चि

मीन राशिलाई साउन महिनामा केही दौडधुप गर्नुपर्ला। स्वास्थ्य समस्याले केही समय काम रोकिन सक्छ। तापनि परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। समस्या पर्दा सहयोगीले साथ दिनेछन्। शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। व्यापारमा लाभ हुनेछ। अध्ययन र लेखनतर्फ प्रगति हुने समय छ। कृषि र पशुपालनमा खर्च बढे पनि औजार तथा स्रोतसाधन जुटाउन सकिनेछ। केही प्रतिस्पर्धा गर्नुपरे पनि नोकरीमा फाइदा लिने समय छ। अवसर लिन वादविवादमा अघि नसर्नुहोला।

प्रतिक्रिया