झगनखबर
चैत २६ । ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका वडा नं ९ स्थित जीवनज्योती माध्यमिक विद्यालय मिश्रभन्ज्याङको स्टोरकोठा जलेर नष्ट भएको छ । देवीथान सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत भई विद्यालय भवनमा आगलागी भएको हो । विद्यालयको स्टोरकोठा जल्दा कोठामा भएका डेस्कटप कम्प्युटर, विद्यार्थी ड्रेस, किताब लगायत शैक्षिक सामग्रीहरु जलेर नष्ट भएको छ । उक्त आगलागीबाट विद्यालयको १० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ढुंगामाटोले बनेको जस्ताको छानो भएको विद्यालयको भवनमा एक कोठामा आगलागी हुँदै गर्दा स्थानियबासीले नियत्रण गर्न सफल भएका थिए । अहिले स्टोरकोठामात्रै जलेको छ, अन्य कोठाहरु भने सकुशल भएको स्थानियबासीले जानकारी दिएका छन् ।
आइतबारदेखि वडा नं ७ बाट आगलागी शुरु भई सोमबार वडा नं ९ स्थित देविथान सामुदायिक वनमा आगलागी भई रहेको छ । विद्यालय भवनमा लागेको आगो नियन्त्रण गर्न सफल भएकाले विद्यालयलाई थप क्षती हुनबाट जोगाउन सफल भएको वडा अध्यक्ष एवं चम्पादेवी गाउँपालिकाका प्रवक्ता सुजन पौडेलले जानकारी दिनुभयो । जंगलमा अग्नी रेखा कोरेर नियन्त्रण गर्दा पनि आगो नियन्त्रण गर्न नसकेको अध्यक्ष पौडेलको भनाई छ । हावाहुरीका कारण आगो नियन्त्रणमा लिन नसकेको र विद्यालय भवनमा आगलागी भएको प्रहरीले जनाएको छ । तत्काल आगो नियन्त्रण गर्न नसके गाउँवस्तिमा पस्न सक्ने संभावना रहेको स्थानियबासीले बताएका छन् । यो समचार तयार पार्दा सम्म प्रहरी र स्थानियबासी आगो नियन्त्रणमा लिने प्रयासमा रहेका छन् ।
आगो नियन्त्रणपछिको विद्यालयको कोठा