श्रीचम्पादेवीको मन्दिरमा दोश्रोपटक पहिरो, मन्दिरमा पुर्ण क्षति


राजकुमार कार्की

भदौ ६ । ओखलढुंगा जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल श्रीचम्पादेवीको मन्दिरमा पहिरोले पुरिदा पुर्ण क्षति भएको छ । निरन्तर भएको वर्षाका कारण देवीस्थानदेखि माथीबाट झरेको पहिरोले देवीको मन्दिर पुरेको हो ।

परापूर्वकाल देखि साक्षात देवीको रुपमा पूजार्चना गर्दै आएको उक्त मन्दिरमा दोश्रोपटक पहिरो आई मन्दिरलाई पुरेको छ । बुधबार  राति भएको अविरल वर्षाका कारण माथीबाट पहिरो झरी मुख्य देविको मन्दिर पुरेको छ । मन्दिरबाट करिब १०० मिटर माथीबाट पहिरो झरी मन्दिरलाई पुरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

मन्दिर लगायत अन्य मन्दिरका पूर्वाधारमा पहिरोले क्षति पु¥याउदा करिब १ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मन्दिर नजिकै रहेको झरनालाई पनि पुर्ण क्षति बनाएको छ । यो वर्ष श्रीचम्पादेवीको मन्दिरमा दुइपटक पहिरोले क्षति गरेको छ । यो भन्दा अगाडी साउनको १६ गते बेलुका पनि पहिरो आई मन्दिरलाई ठक्कर दिएको थियो । मन्दिरमा पहिरो आएपछि चम्पादेवी गाउँपालिकाले मन्दिरमा क्षमापूजा समेत गरेको थियो । त्यो बेलाको क्षति सामान्य भएपनि अहिलेको ठुलो क्षति भएको छ ।

यो वर्ष चम्पादेवीको मन्दिरमा नसोचेको घटना भयो, पटकपटक पहिरो गई मन्दिर पुर्ण क्षति हुनु आश्चर्यको घटना भएको चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीले बताउनु भयो । अब मन्दिरलाई पुर्णरुपमा निर्माण गर्नुपर्नेछ, स्थानिय सरकारको बजेटले निर्माण गर्न संभव नभएकाले संघिय सरकार, प्रदेश सरकार, पुरतत्वविभाग लगायत सरोकारवाला निकायको पनि प्रत्यक्ष सहयोगको अपेक्षा रहेको प्रमुख केसीले बताउनु भयो ।

श्रीचम्पादेवीको मन्दिर वरिपरी पटक पटक क्षति हुनु र यो वर्ष देवीको मन्दिर नै पुरिने गरी पहिरो खस्नुले देवी रिसाएको हुनसक्ने स्थानियबासीको भनाई छ ।  परापूर्वकाल देखि पुजार्चना, दर्शन  गर्दै आएका श्रीचम्पादेविको मन्दिरमा कुनै प्राकृतिक प्रकोपले क्षति पु¥याएको थिएन । देवीको शिलालाई ढाक्ने र छोपने गरी केहि वर्ष अगाडी मन्दिर बनाएपछि त्यहा मन्दिर आसपास केहि न केहि क्षति हुने गरेको स्थानियले बताएका छन् । खुल्ला रुपमा उतपन्न भएकी देवीलाइ छानो सहितको  मन्दिर बनाउन नहुने तर्क समेत गरेका छन् । पहिरोका कारण मन्दिरमा ठुलो क्षति भएकाले तत्काल केहि गर्न सकिने अवस्था नभएको चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवं वडा नं ९ का वडाध्यक्ष सुजन पौडेलले बताउनु भयो । 

 श्रीचम्पादेवी

विशेष गरी ठुली एकादशी (हरिबोधनी एकादशी) का दिन दर्शन गर्न टाढाटाढा बाट आउने दर्शनार्थीहरुको घुँइचो लाग्ने गरेको छ ।  तिहार पछी लगत्तै दर्शन गर्ने तथा मेला भर्नेको घुँइचो लाग्ने गरेको छ । १५ दिन सम्म लाग्ने उक्त मेलामा देवीको दर्शन गर्ने र मेलामा रमाईलो गर्नेको भिँड लाग्ने गर्दछ । दर्शन गर्नका लागी नेपालका विभिन्न जिल्लाका दर्शनार्थी र छिमेकी देश भारतको सिक्किम र दार्जेलिङ्गबाट समेत दर्शनार्थीहरु आउने गरेको स्थानियबासी बताउछन् ।  

पहराको काछमा उत्तपन्न भएकी श्रीचम्पादेवीको मन्दिरमा फूलडोली, फूलसोली मार्फत फूल तार्ने, घण्टा, त्रिशुल चढाउने गरिन्छ । देवीको मन्दिरमा उपस्थित भई दर्शन गर्दा मनोकाङक्षा पुरा हुने किंबदन्ती र जनविश्वास रहेको छ । आफ्नो मनोकाङक्षा पुरा हुने र मागेको बर पाउने भएकाले टाढा टाढा देखी दर्शन गर्न आउनेको घुइचो लाग्ने गरेको छ । आफुलाई आवश्यक महशुस भएका चिजहरुको ठुलो आवजै निकालेर देवी सँग माग्ने चलन रहेको छ । ठुलादेखि साना घण्टा, ठुलादेखि साना तामाका त्रिशुल, सुन चाँदी पैसा लगायत अन्य पशुचौपया बृद्धि होस भनेर दहि दुध चढाउने, गाई भैसी बाँद्ने दाम्लो चढाउने, गाईभैसीलाई बोलाउदै मन्दिर देखि दाम्लोले गाईभैसी ताने जस्तै गरी दाम्लो घिसार्दै हिड्ने, राम्रो उत्पादन होस् भनेर मकैका झुत्ता फलफुल चढाउने गरेको पाईन्छ ।

धार्मिक आस्थाको रुपमा रहेको श्रीचम्पादेवीको मन्दिर पहिरोले पुरिनु अचम्मको घटना भएको स्थानिय बासीको भनाई छ । मन्दिरको पुननिर्माणमा सबै सरोकारवाला निकाय लगायत सबै मिलेर लाग्नु पर्ने पनि बताएका छन् । देशविदेशमा रहेका ओखलढुंगेली लगायत नेपालीले मन्दिरमा भएको प्राकृतिक बिनास बारे दुख ब्यक्त गरेका छन् । आफ्नो सामाजिक सन्जाल फेसबुकमा लेख्दै मन्दिरमा भएको प्राकृतिक बिनासको बारेमा दख ब्यक्त गरेका हुन् । 


प्रतिक्रिया