झगनखबर
साउन १४
।हिन्दुधर्मावलम्बीहरुको चाड जनैपुर्णीमा आज जनै लगाएर मनाउने गरिन्छ । मन्त्र
गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा (घाँटीमा) लगाउनुलाई जनै लगाउनु भनिन्छ ।
जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि
नामले पनि जनैलाई चिनिन्छ।
उपनयन संस्कार
भएकाहरूले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले
बाँधेको हुन्छ । उपनयन, संस्कार त्यस मध्ये एक हो । उपनयनको शाब्दिक अर्थ चाहिँ नजिक जाने
प्रक्रिया वा चाहना हो । जीवनमा भगवानतत्वसंग नजिक जाने यस संस्कारको महत्त्व धेरै
छ ।
जनै वा यज्ञोपवीत को
महत्त्व
ब्राह्मण र क्षेत्रिय
पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ ।
बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरेका मानिसहरुले जनै लगाउने
चलन छ । व्रतबन्ध गर्दा गुरु पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री
मन्त्रको उच्चारण गरी सुनाएपछि एउटा
निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि
पर्ने गरी दाहिने हातको तल्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै
ग्रहण गरिन्छ । जनै लगाएपछी प्रत्येक विहान हातमुख धोएर जनै समातेर गायत्री मन्त्र
वाचन गर्ने चलन छ । जनै धारण गरेका मानिसहरुले विहान हातमुख धोएर गायत्री मन्त्र
जपेर मात्र खाने चलन भए पनि अहिलेका युवाहरुले
भने जनै नै लगाएको पाइदैन । अहिलेका युवाहरु धर्मप्रती भन्दा पनि आधुनिक्ता
तर्फ उन्मुख भएको र विदेशी नक्कलले गर्दा आफ्नो
संस्कार भुल्दै गएको बुढापाकाहरु बताउछन् ।
जनै लगाउनुको अर्थ
गुरुपुरोहित
द्वारा मन्त्रेको जनै ६ वटा काँचो धागो (६
सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार
पारिन्छ । जसलाई वार्षिक रूपमा आजै (जनैपुर्णीमा) को दिन परिवर्तन गर्ने चलन
रहिआएको छ । आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि
प्रचलित छ । जनैमा रहने दुई वटा
शिखाका छ वटा धागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को शिखाको तीन डोरालाई कर्म, उपासना, ज्ञानको योग मानिन्छ ।
जनै धारण र गायत्री
मन्त्रको उच्चारण
परिवर्तित
परिप्रेक्ष्य चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त
शुद्ध गरेर आस्थावान् जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवीत अर्थात् जनै
अरूलाई लगाइदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस् मन्त्रिएका यज्ञोपवीतको
धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा
गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक
सामर्थ्यको वृद्धि हुने विश्वास छ ।
यज्ञोपवीत धारण गरेपछि समस्त सनातन कर्महरूको
कर्ता र अभियन्ता बन्न योग्य पनि ठहराउँदछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल
जातीय आधार र छुवाछुतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत
कुण्ठा मात्र हो ।
ब्राह्मण पथ र
यज्ञोपवीतको सम्बन्ध
यज्ञोपवीतले ब्राह्मण
पथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मण पथ भन्नाले जन्म हैन कर्मले
प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगको भलो अनि
अध्यनशिलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रूपमा मात्र हेर्न हुँदैन । जुनसुकै धर्म या जातीय
पृष्ठभूमिको भए पनि अध्ययनशीलता र आत्मिक शुद्धताको ब्राह्मण पथमा आलीन हुन
सक्दछन् ।
ऋषितर्पणी
यस दिन स्नान गरी
सप्त ऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तर्ने त्यसलाई धारण गर्ने
प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र
अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने
गरिएको छ ।
सनातन धर्मका
अनुयायीहरू सबैका पुर्खाहरू ऋषिहरु भएको र यही अनुरूप सबैको गोत्र पनि तिनै ऋषि
हरुको नाम अनुरूप तय गरिएको छ । यस अर्थमा आजका दिन दिइएको तर्पण हाम्रा अनन्य
पुर्खाहरूको सम्झना र आफ्नो कुल परम्परा अनि संस्कारको समानार्थक दिइएको हो ।
डोराका शिखाहरूको
महत्त्व
विशेषतः ब्राह्मण, क्षेत्रीय या अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण
पुरोहितसँग हातमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिन्छ । सनातन हिन्दु
वैदिक ग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्म सूत्र अर्थात्
वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नका लागी
ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो । ३,३ वटा डोराको दुइवटा
बन्धन तयार पारिन्छ, जसलाई शिखा भनिन्छ ।
शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ ।
नेवा संस्कृतिमा जनै
पूर्णिमा
आजको दिनलाई नेपाल
भाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई गुंला महिनाको पुन्हिू
अर्थात् गुंपुन्हिू भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल
विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
रक्षा बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको हो । कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने गर्दछन् ।
राखी लगाउने चलन
आजकै दिन
दिदीवहिनीहरुले आफ्ना दाजु,भाइका दाहिने हातका
नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी
लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी
रहेको छ ।
रक्षा बन्धन दुई
शब्दहरू मिलेर बनेको छ, रक्षा र बन्धन ।
संस्कृत शब्दावलीको अनुसार यसको अर्थ सुरक्षाको गाँठो हुन्छ। यो चाड दाजुभाइ,दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध
मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ।
यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको
धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र
आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।