झगनखबर
असार १२ । बिहान उठ्ने वितिकै दुईवटा बच्चा
च्यापेर घरमाथीको सडको डिलमा बसेर ठुलठुला ढुंगालाई घनले फोरेर मसिना गिट्टी
बनाउनु सुनिताको दैनिकी नै बनेको छ । दुइवटा बच्चा, ठुली छोरी ३ वर्षकी
भईन्,
सानी छोरी १८ महिनाकी
भईन् । हेर्दा उत्रै देखिने दुइवटा छोरी काखको दुईपटी राखेर गिट्टी कुट्नु
दिनचर्या बनेको छ, ‘सुनिता बयलकोटीको ।’
सिद्धिचरण नगरपालिका वडा नं ५, बर्णालु बिशंखेटोल
निवासी २६ वर्षीय सुनिता बयलकोटीको श्रीमान दुइ छोरी गरी जम्मा ४ जनाको परिवार छन्
। उहाँहरुको नाममा कुनै जग्गाजमिन छैन । लगभग २ आना जतिमा बनेको ढुंगामाटाको घर, जहाँ घरमात्रै छ, वरिपरी अरुको नै
जग्गा छ,
यताउता गर्न पनि कठिन
हुन्छ । श्रीमान दिपक बयलकोटी विहान उठेर मेलापातको काम खोज्न निस्कनुहुन्छ ।
गाउँमा मेलापातको काम पाए गर्नुहुन्छ, नपाए त्यतिकै फर्कनुहुन्छ । मेलापातको काम
पाउँदा दैनिक ज्याला बापत १ हजार कमाउनुहुन्छ । नपाउँदा त्यतिकै बस्नुपर्छ । घरमा
आवश्यक पर्ने सबै खाद्यन्न खरिद गर्नुपर्छ । आफैले खेती गर्न आफ्नो भनेको एक
चप्परी पनि जग्गा छैन ।
‘अरुको कमाउन पनि वरिपरी जग्गा पाइएन टाढा जान पनि
साना बच्चा भएकाले आउन जान संभव भएन ।’ अरुको मेलापातको काम गर्न जान पनि बच्चाको रेखदेख गर्ने कोही पनि छैनन् ।
बच्चा भएको महिलालाई मेलापातमा पनि कसैले नबोलाउने गरेको गुनासो गर्नुहुन्छ, बयलकोटी ।
बरु जसो तसो घर नजिकै
छोरीहरु च्यापेरै भएपनि गिट्टी कुट्ने काम सम्भव भएकाले गिट्टी कुटेर गुजारा
गरिरहेको बयालकोटी बताउनु हुन्छ । काखको दुवैपट्टी दुवै बच्चा च्यापेर सडकको तातो
घाममा गिटी कुट्नु सजिलो त छैन तर पनि आफुलाई खाने लाउने दुइवटी छोरीलाई खुवाउनको
लागी अरु केहि उपाय नभएपछि घाम र पानीको कुनै प्रवाह छैन, सनिता बयलकोटीलाई ।
उहाँ खोलामा गएर आफै ट्रयाक्टरमा ढुङ्गा लोड गर्नुहुन्छ र ल्याएर आफै अनलोड
गर्नुहुन्छ । आफैले लोड गरेर ल्याउदा र आफैले अनलोड गर्दा ट्रयाक्टरले २ हजार भाडा
लिने गरेको छ । १ ट्रयाक्टर ढुङ्गालाई सानो बनाएर गिटी बनाउनलाई दुई महिना लाग्छ ।
१ ट्रयाक्टर गिटीको रु ७ हजारमा बेच्ने गरेको बताउनु हुन्छ । त्यही ७ हजारले आफ्नो
परिवारको समस्या जासोतसो धान्ने गरेको बताउनु भयो । आफुले तयार पारेको गिटी त्यही
ट्रयाक्टर वालाले लगीदिने गरेकाले गिटी बेच्न चाँही समस्या नभएको बताउनु हुन्छ ।
उहाँका ३ जना देवरहरु
हुनुहुन्छ सबै जनाको विवाहा भइसकेको छ । उहाँहरु पनि छुट्टिएर आ–आफ्नै काम गरिरहेका
छन् । सासुआमा हुनुहुन्छ उहाँ अर्कै भाई सँग बस्नु भएको छ । ससुरा डम्बर बहादुर
बितेको धेरै वर्ष भईसक्यो । बुढा ससुरा (ससुराको बुवा) को नाममा भएको जम्मा २ रोपनी जग्गा अंशबण्डा भएको छैन । ससुराहरु (ससुराका दाजुभाई) ३ जना हुनुहुन्छ । २ रोपनी जग्गा ३ जना ससुराहरुलाई
भाग लाउदा आफ्नो सासुको नाममा आउने एक भाग अंशबाट आफ्नो श्रीमान र देवरहरु र सासुआमालाई भाग लाउदा केहि जग्गा
आफ्नो श्रीमानको नामा पनि आउने आशामा हुनहुन्छ । उहाँले भन्नुभयो; ‘अंशबण्डा भए त हाम्रो
नाममा पनि अलिकति जग्गा त आउथ्यो होला ! तर ससुराको नाममै जग्गा आएको छैन, हाम्रो नाममा त के
आउथ्यो होला र ।’
बच्चाहरुलाई खुवाउनकै
लागी संघर्ष गरिरहेकी सुनिता, कहिले काँही बच्चा बिरामी हुँदा पैसा अभावका कारण
समयमा उपचार गर्न नसकेको अनुभव गहभरी आँशु पादै सुनाउनु भयो । ‘ अस्ति सानी छोरी
सुदिक्षा विरामी भईन,अस्पताल लाँदाको भाडा अहिले सम्म पनि तिर्न सकेको छैन ।’
खोटाङ्ग माइती भएकी
सुनिता १० कक्षा सम्म अध्ययन गर्नुभएको छ । एसएलसी परिक्षामा फेल भएपछि आर्थीक
अभावका कारण फेरी चान्स परिक्षा दिन
नसकेकाले पढाई त्यत्तिकै छोड्नु परेको तितो अनुभव सुनाउनु भयो । ४ वर्ष अगाडी २२
वर्षको उमेरमा बर्णालु बिशंखेटोलमा विवाह
गरेर आएकी सुनिताका ४ वर्षकै अवधीमा ठुली सुदिपा ३ वर्ष र कान्छी सुदिक्षा १८
महिनाकी दुइ छोरीकी आमा भईसक्नु भएको छ । तिनै छोरीहरुलाई लालनपालनका लागी तातो घाममा
सडक छेउमा दुइछोरी सहित बसेर गिटी कुट्दै
आफ्ना दिनचर्याहरु बिताईरहनु भएको छ ।