आज गोवर्द्धन पूजा
अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको
दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश
नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले
हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।
श्रीमद्भागवत गीतामा
उल्लेख भएको गोवर्धन पुजाको प्रसङ्ग ।
भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुज्ने चलन रहिआएको छ
गोवर्धन का साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातुबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरू लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया ९गँणासी० इत्यादीको पूजा गरिन्छ ।
प्राचीन नेपाली समाजको स्मरण गर्ने हो भने गोरु गाडा लगायतका जनावरले तान्ने गाडाहरू नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरू थिए। यी नै गोरुहरू अनि बहर कालागि आजको दिन पिठो, नुन, चोकर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिहुन हालेर बनेको गिलो रोटी अर्थात् बावर खान दिइन्छ ।