कात्तिक, १० । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना
दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा
सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि
साइत खोज्नेका लागि बिहान ११M३७ बजेको समय उत्तम
रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
प्रत्येक वर्ष
कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन
आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि
भनिन्छ । दिदीबहिनीले
दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने
शास्त्रीय मान्यता रहेको छ । तिहारमा सप्तरङ्गी
टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने
टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।
टीका लगाइदिएपछि
दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई
गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं
सामाजिक परम्परा छ ।