ओखलढुंगा प्रदेश (क) मा प्रदिप र अम्बिरको महाभिडन्त

ओखलढुंगा, कार्तिक २ M  दुई वटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगा जिल्लामा प्रदेश सभा (क) मा प्रदेश सभा सदस्य पदका लागी गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रिय सदस्य प्रदिपकुमार सुनुवार र नेकपा एमालेका उम्मेदवार प्रदेश १ का पूर्वमन्त्री अम्बीरबाबु गुरुङबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

गठबन्धनका सुनुवार कांग्रेसको २ पटक लगातार जिल्ला सभापति र अहिले केन्द्रिय सदस्य हुन् भने एमालेका गुरुङ प्रदेश १ कमिटीको सचिवालय सदस्य, २०७४ मा निर्वाचित सांसद र प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका नेता हुन् । 

सुनुवार, स्थानीय तह हुँदा २०५४ सालमा गाविस अध्यक्ष तथा जिल्ला पार्टी सभापति हुँदा तत्कालिन जिल्ला विकास समितिको राजनीतिक संयन्त्रको नेतृत्व गरेर काम गरेको, स्थानीय विकासको संरचना र भूगोलबारे जानकारी भएका नेता हुन्। गुरुङ, प्रदेश सरकारको शक्तिशाली मन्त्रालय सञ्चालन गर्दा प्रदेशको विकासमा सरकारले गरेका काम र ती संरचनाबारे जानकारी भएका नेता हुन् ।

दुवै नेतामा हक्की र कुनै एउटा निचोडमा पुगेपछि पछि नर्फकने स्वभाव छ । निर्वाचन जित्दा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार बन्ने परिस्थितिमा दुवै नेता प्रदेश मन्त्रीका मुख्य दावेदार पनि हुन् ।

पहिलो पटक यी दुई नेताबीच चुनावी मैदानमा भेट भएको छ । यस अघि दुवै फरक फरक निर्वाचन क्षेत्रबाट लडेका थिए । चुनावमा सुनुवार पराजित भए भने गुरुङ निर्वाचन जितेपछि राज्यमन्त्री हुँदै मन्त्री भए । गुरुङको यो निर्वाचन तेस्रो हो भने सुनुवार दोस्रो पटक मैदानमा उत्रिएका छन् । २०५६ सालको आम निर्वाचनमा गुरुङ नेकपा मालेको चुनाव चिन्हबाट प्रतिनिधी सभाका उम्मेदवार थिए ।

यस्तो छ राजनीतिक अकं गणित

प्रदेश सभा क मा ४ स्थानीय तह छन् । यसमध्ये स्थानीय तह निर्वाचनमा काँग्रेस माओवादी गठबन्धनबाट चिंशखुगढी गाउँपालिकामा प्रमुख उपप्रमुख, सिद्धिचरण नगरपालिकामा प्रमुख तथा खिजीदेम्वामा  उपप्रमुख जितेका छन् । खिजीदेम्वाको प्रमुख जनता समाजवादीले जितेको छ भने सिद्धिचरणको उप प्रमुख एमालेले जितेको छ । मोलुङ गाउँपालिकाको दुवै सिट एमालेले जितेको छ ।

खिजीदेम्वा जितेको जसपाले उम्मेदवार उठाएर चुनावी मैदानमा छ  भने काँग्रेस, माओवादी र एकिकृत समाजवादीको गठबन्धन छ । एमाले एक्लै चुनावी मैदानमा छ । स्थानीय तहको निर्वाचनको मत परिणामले गठबन्धनका सुनुवार बलियो देखिन्छन् भने यस अघि बाम गठबन्धनबाट उम्मेदवार बनेका गुरुङले ७ हजार मतान्तरले काँग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए । मन्त्री बनेपछि जिल्लामा धेरै विकासका योजना पार्ने मन्त्रीका रुपमा परिचित छन् ।

उता कांग्रेसका सुनुवार गाविस अध्यक्ष हुँदै जिल्ला पार्टी नेतृत्वमा हुँदा तत्कालीन जिल्ला विकास समितिको राजनीतिक संयन्त्रको नेतृत्व गरेर वडा वडामा बजेट पठाउने काम गरेका थिए ।

लामो समय भूगोलको राजनीतिमा सक्रिय सुनुवार र मन्त्री समेत भइसकेका गुरुङ दुवै जिल्लाको विकासका लागि खट्ने  र विकासप्रेमी नेताका रुपमा परिचित छन् । उनीहरुको प्रतिस्पर्धालाई लिएर अनेक अड्कलबाजी भए पनि निर्वाचन परिणाम कसको पक्षमा जान्छ भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया