दिबंगत गुरुको सम्झनामा पार्क निर्माण


मंसिर २५, ओखलढुंगा ।  दिबंगत गुरुहरुको सम्झनामा पुर्व विद्यार्थीहरुले गुरुपार्क निर्माण शुरु गरेका छन् । मोलुङ गाउँपालिकाको वडा नं. २ स्थित रामपुरमा बरुणेश्वर माध्यमिक विद्यालयमा अध्यापन गराएका दिबंगत गुरुहरुको सम्झनामा गुरुपार्क निर्माण गर्न लागिएको हो । रामपुर बजारको सिरान, बस्ति भन्दा केहि मिटर माथी थानी ढुङ्गा जाने बाटोको पहिलो स्टेपमा बनाउन शुरु गरिएको पार्कमा अहिले सम्म दिवंगत भएका गुरुहरु र अब दिबंगत हुने गुरुहरुको फोटो राखिनेछ । ईटाको वाल लगाएर प्लाष्टर गरिएको फोटो फ्रेममा दिबंगद गुरुको फोटो सँगै बरुणेश्वर माध्यमिक विद्यालयको लोगो राखिनेछ । गुरुपार्क निर्माण सँगै यो ठाउँलाई पर्यटन प्रबर्धनमा जोड दिने स्थानियले बताएका छन् । पहिलो चरणमा स्थानियको आफ्नै लगानीमा सिमेन्टको फोटोफ्रेम निर्माण, बृक्षारोपन र राष्ट्रिय झण्डा राखिएको छ ।

पहिलो चरणमा बरुणेश्वर माविका पुर्व विद्यार्थी एवं समाजसेवी महेन्द्र बहादुर कार्की, सन्तोष कार्की र इसुराज दाहालको संयुक्त लगानीमा पार्क निर्माण शुरु गरिएको इसुराज दाहालले बताए । अहिले सम्म लगभग ८० हजार सकिएको र थप निर्माणका लागि स्थानिय सरकारसँग अनुरोध गरिरहेको प्राविधिक समेत रहेका दाहालले बताए । अहिले सम्मको काम उनै प्राविधिक दाहालको अगुवाईमा भईरहेको छ ।  गुरुपार्क निर्माण सँगै बोलढुङगा, रमिते ढुङगा हुदै झाँक्री ढुङगा (थान ढुङगा) सम्म पर्यटन पुर्वाधार विकास गर्न पहल गरिरहेको पत्रकार रमेश गाउँलेले बताए । उनका अनुसार, "गुरुपार्क देखि थान ढुङ्गा सम्म पर्यटन विकास गर्नका लागि प्याकेजमै योजना बनाएर, आवश्यक सिँढी बनाउने, भुमेथानमा किराँती राजा यलम्बरको घोडा चढेर तिर हानेको सालिक निर्माण गर्ने, भगवान शिवको सालीक निर्माण गर्ने लगायतका योजनाहरु छन्" । वडा अध्यक्ष टंक कार्कीले भने; "गुरुपार्क निर्माण तथा पर्यटन विकास पुर्वाधार निर्माणका लागि  वडा कार्यालयबाट बाट १ लाख बजेट छुट्याएका छौ, संघिय सरकार र प्रदेश सरकारले सहयोग नगरेसम्म योजना पुरा गर्न सकिदैन"  । रामपुर बजार देखि लगभग ३ घण्टा पैदल यात्रा पछि थान ढुंगा पुग्न सकिन्छ । विच बाटोमा विभिन्न बनावटमा अवस्थित अन्य ढुंङ्गाहरुको अवलोकनका साथै रामपुर बजार, कुन्तादेवी, जरायोटार, हर्कपुर, प्राप्चा, राँगादिप, तिनतले वन, कटुन्जे, च्यानम लगायतका ठाउहरु सजिलै हेर्न र देख्न सकिन्छ ।

 

प्रतिक्रिया