राजकुमार कार्की
ओखलढुंगा, भदौ २४
बीपी कोइरालाले स्पष्ट भन्नुभएको थियो, ‘गरिबीको वितरण समाजवाद होइन। एक–एक चम्चा दूध वितरण
गर्नु समाजवाद होइन। औद्योगिक पुँजीवादको विकासबाट ठूलो पैमाना (जग्गाजमिनको ठूलो
मात्रालाई विस्तारलाई सानो पार्न लिएको अनुपात) मा उत्पादन गरी न्यायोचित वितरण
गरेर समाजवाद ल्याउन सकिन्छ। भूमिसुधार गरेर वास्तविक किसानलाई जग्गा वितरण
गर्नुपर्छ।’
नेपाली कांग्रेसका संस्थापक नेता, नेपालको इतिहासमै पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री
विश्वेश्वरप्रसाद कोइराला वि.सं. १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मनुभएको
हो। उहाँको वि.सं. २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा निधन भएको थियो।
बुवा कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाका
साइँला सन्तानका रूपमा जन्मनुभएका कोइरालाको विवाह सुशीला कोइरालासँग भएको थियो।
उहाँका तीन छोरा र एक छोरी हुन्। छोराहरू प्रकाश कोइराला, हर्ष कोइराला र शशांक कोइराला हुन् भने छोरी चेतना
कोइराला हुन्।
बीपी कोइरालाले वि.सं. १९८८ सालमा भारतको बनारसबाट उच्च
माध्यमिक शिक्षा पूरा गर्नुभएको थियो। बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति तथा
अर्थशास्त्र विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको थियो। पछि कलकत्ता
विश्वविद्यालयबाट कानुन विषयमा स्नातकोत्तर पूरा गरेपछि दार्जिलिङमा कानुन
व्यवसायसमेत गर्नुभएको थियो।
राजनीतिक जीवन (राजनीतिक नेतृत्व)
बीपी कोइरालाको सक्रियतामा वि।सं। २००३ साल कात्तिक १५
गते बनारसमा बस्ने नेपालीहरूलाई संगठित गरी देवीप्रसाद सापकोटाको सभापतित्वमा
‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामक संस्थाको स्थापना भएको थियो।
वि.सं. २००३ साल माघ १२ र १३ गते प्रवासी नेपालीहरू तथा
नेपालको कारागार तोडेर आएका गणेशमान सिंहलगायत भारतमा बसोबास गर्ने नेपाली
प्रतिनिधिहरूको उपस्थितिमा प्रथम महाधिवेशन सम्पन्न भएको थियो। भारतको कलकत्ता, भवानीपुरमा भएको महाधिवेशनले संगठनको नाम परिवर्तन गरी
‘नेपाली राष्ट्रिय कांग्रेस’ राखेको थियो। उक्त महाधिवेशनले ३३ वर्षीय बीपी
कोइरालालाई कार्यकारी सभापतिमा चयन गरेको थियो।
वि.सं. २००६ साल चैत २७ गते भारतको कलकत्तामा नेपाली
राष्ट्रिय कांग्रेसको चौथो महाधिवेशन सम्पन्न भएको थियो। नेपाली राष्ट्रिय
कांग्रेसको चौथो महाधिवेशनमा सुवर्णशमशेर राणाको सक्रियतामा वि।सं। २००४ साल साउन
१ गते स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका प्रतिनिधिहरूको पनि सहभागिता
रहेको थियो। दुवै पार्टीका सहभागी प्रतिनिधिहरूको उपस्थितिमा दुवै पार्टीलाई
एकीकरण गरी नेपाली कांग्रेस नामक लोकप्रिय संस्थाको स्थापना गरिएको थियो। यस
संस्थाले नै नेपालमा राणाहरूको एकतन्त्रीय राणाशासन व्यवस्थाको अन्त्य गरी
प्रजातन्त्रको स्थापना गरेको थियो।
प्रजातन्त्र घोषणा तथा सरकार सञ्चालन
नेपालमा १०४ वर्ष लामो शासन सत्ता सम्हालेर बसेको
एकतन्त्रीय राणाशासनको अन्त्य भई वि।सं। २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र
घोषणा भयो। नेपालमा प्रजातन्त्रको घोषणा भएपछि बनेको अन्तरिम सरकारमा श्री ३
महाराज मोहनशमशेर ज।ब।रा। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नुभएको थियो भने
विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री बन्नुभएको थियो।
वि.सं. २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसको बहुमत आएपछि वि।सं। २०१६ साल जेठ १३ गते उहाँ नेपालको २२औँ तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको कार्यकाल लामो समयसम्म टिक्न दिएनन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँले सुधारका कामहरू एकपछि अर्को गर्दै गएपछि राजाले उहाँको सत्ता हत्याएका थिए। वि।सं। २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारमाथि ‘कू’ गर्नुभयो। त्यस दिन राजा महेन्द्रले आफ्नो विशेषाधिकार प्रयोग गरेर तत्कालीन संविधान र बीपी कोइराला नेतृत्वको सरकार विघटन गरी बीपी कोइरालालाई बिना मुद्दा कैद गरिएको थियो। यसरी राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरी देशमा राजाको प्रत्यक्ष शासनकाल ९पञ्चायती व्यवस्था० को घोषणा गर्नुभएको थियो। यो शासन व्यवस्थाले नेपालमा करिब ३० वर्ष शासन गरेको इतिहास छ।
जेलजीवन
भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनमा लागेका कारण
बेलायती सरकारले वि।सं। १९८६ सालमा उहाँलाई तीन महिना कैद गरेको थियो।
वि।सं। २०१७ साल पुसदेखि २०२४ सालसम्म राजा महेन्द्रले
उहाँलाई बिना कुनै मुद्दा जेलमा राखेका थिए।
वि.सं. २०२४ सालमा देशनिकाला गरी भारतको बनारसमा जान
दिइएको थियो।
वि.सं. २०३२ सालमा उहाँ नेपाल फर्कनुभएको बेला सरकारले
देशद्रोहको अभियोगमा कैदमा राखेको थियो। वि।सं। २०३४ सालमा उहाँविरुद्ध लगाइएका
सबै अभियोगहरू सरकारले फिर्ता गरेको थियो।
वि.सं. २०३६ सालको आन्दोलनमा उहाँलाई आफ्नै निवासमा
नजरबन्द गरिएको थियो।
साहित्यमा योगदान
बीपी कोइरालाले राजनीतिक तथा सामाजिक योगदानसँगसँगै
साहित्यमा पनि ठूलो योगदान गर्नुभएको छ। उहाँले उपन्यास, कथा र जीवनी लेख्नुभएको छ।
उपन्यास
तीन घुम्तीस् यो उपन्यासमा महिलाका तीन रूपको चित्रण
गरिएको छ। महिलालाई प्रेमिका, पत्नी र आमाका रूपमा चित्रण गरेर तयार
पारिएको छ।
सुम्निमास् यो भिन्न संस्कृतिको समन्वय र सम्मिश्रणको
गाथाका रूपमा लिइन्छ। यो उपन्यासमा प्रेमले मानिसलाई शारीरिक रूपमा टाढा भए पनि
मानसिक रूपमा नजिक अनुभूति गराउँछ भन्ने यसको सार हो।
नरेन्द्र दाइस् ‘नरेन्द्र दाइ’ एक मनोवैज्ञानिक उपन्यास
हो। एउटा पुरुषको पत्नी र प्रेमिका, दुई
छुट्टाछुट्टै सम्बन्धका दुई स्त्रीबीचको कथा हो। दुई भिन्न चरित्रका नारीको जीवन्त
कथा नै ‘नरेन्द्र दाइ’ उपन्यासको मुख्य सार हो।
मोदिआइनस् हजारौँ वर्षअघिको महाभारतीय युद्धकथा यस
उपन्यासको मुख्य कथा ९विषयवस्तु० हो। युद्धको परित्याग र शान्तिको स्थापना यो
उपन्यासको मुख्य सन्देश हो। बीपीको वास्तविक चिन्तन र विश्लेषण यस उपन्यासमा पाउन
सकिन्छ।
हिटलर र यहुदीस् जर्मन तानाशाह हिटलरले लाखौँ निर्दोष
यहुदीहरूलाई ग्यास च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास तयार पारिएको
छ। हिटलरले गरेको नरसंहार र युद्धको भयङ्करता देखाएर शान्ति नै मूलधार हो भन्ने
कुरा देखाइएको छ।
बाबु, आमा र छोरास् आफ्नै छोराकी गर्भवती
प्रेमिकासँग बाबुको दोस्रो बिहे भई बाबुकी पत्नीका रूपमा स्थान लिएको यस उपन्यासमा
भनिएको छ। यो उपन्यासमा भएजस्तो नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुने अवस्था नरहेको विश्लेषण
छ।
कथा
दोषी चस्मास् यो मनोवैज्ञानिक कथा हो। यसमा उच्च ओहोदामा
पुगेको मानिस र सामान्य मानिसबीचको सम्बन्धबारे स्पष्ट पारिएको छ। यस कथालाई दुई
तरिकाबाट विश्लेषण गर्न सकिन्छ। उच्च ओहोदामा पुगेको मानिसलाई चाकरी गर्नैपर्छ, नत्र सामान्य मानिसले खान नै पाउँदैन भन्ने यो कथाको
मुख्य सार जस्तो बुझिन्छ। कथाका पात्र केशवराजले आफ्नी श्रीमतीसँग गरेको गुनासोले
यसलाई स्पष्ट पार्दछ।
अर्को कुरा, गाडीमा सवार
जर्साहेबले केशवलाई नदेखी हिँड्नु, देखेर पनि
नबोली हिँड्नु र वास्ता नगर्नुले उच्च पदमा पुगेपछि मान्छे मातिन्छन् र अरूलाई
मान्छे गन्दैनन् भन्ने कथाको सार रहेको छ।
श्वेतभैरवीस् परम्परागत सामाजिक नियम र मानव मनको भित्री
रहस्य ९यौन भयको मनोविज्ञान० बीचको सम्बन्धलाई उजागर गर्ने उत्कृष्ट मनोवैज्ञानिक
कथाका रूपमा रहेको छ।
जेलजर्नलस् वि.सं. २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेर
बीपी कोइरालालाई सुन्दरीजल जेलमा लगेर थुनिएको बेलामा तयार पारिएको किताब हो।
उहाँले यस किताबमा जेलमा भएका साना–साना कुरालाई पनि गम्भीरतापूर्वक उठाई प्रस्तुत
गर्नुभएको छ।
२००७ सालअघि विकासको अवस्था कस्तो
थियो
तत्कालीन समयमा जम्मा विद्युत् उत्पादन १.४ मेगावाट
थियो। फर्पिङ जलविद्युत् केन्द्र ५०० किलोवाट र सुन्दरीजल जलविद्युत् केन्द्र ९००
किलोवाट मात्र उत्पादन थियो।
काठमाडौँभित्र र तराईका केही ठाउँमा कच्ची सडक बनेका
थिए। काठमाडौँमा राणाहरूका दरबार जाने ठाउँमा भने केही नगण्य रूपमा कालोपत्रे भएको
तथ्याङ्क भेटिन्छ।
नेपालमा ५१ माइल रेलमार्ग (९८२ किलोमिटर) रक्सौल–अमलेखगन्ज तथा जयनगर–जनकपुर–बिजुलपुरसम्म रेलमार्ग थियो।
५० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा मात्र थियो। बाँकी
रहेका ठाउँका कृषकहरूले खोलाखोल्सी र आकाशे पानीको भर पर्नुपर्थ्यो।
३०० वटा टेलिफोन लाइन मात्र थिए, काठमाडौँ उपत्यकाभन्दा बाहिर एउटा पनि थिएन। काठमाडौँका
मुख्य प्रशासनिक अड्डाहरू, राणाका भाइभारदार, आफन्तहरू र उनीहरूका दरबारहरूमा मात्र टेलिफोन सुविधा
सीमित थियो।
१०० वटा हुलाक थिए। केन्द्रीय हुलाकको रूपमा गोश्वारा
हुलाक र जिल्ला हुलाकको रूपमा छोटी हुलाक हुन्थे।
१ वटा कलेज (त्रिचन्द्र कलेज), ११ वटा माध्यमिक विद्यालय र २०० प्राथमिक विद्यालय (भाषा पाठशालासहित) थिए।
देशभरिका अस्पताल र डिस्पेन्सरीहरूमा ६४९ शय्या र ती
अस्पतालमा ५० जना मात्र डाक्टर थिए। उनीहरूले देशको सम्पूर्ण स्वास्थ्य क्षेत्रको
प्रतिनिधित्व गरिरहेका थिए।
वित्तीय संस्थाका रूपमा नेपाल बैंक लिमिटेड मात्रै थियो।
नेपाली रुपैयाँको कम चलनचल्ती थियो भने तराईका जिल्लाहरूमा भारतीय रुपैयाँको बढी
प्रयोग हुने गरेको थियो।
बिर्ता प्रथाको उन्मूलन गरियो। राजनीतिक, आर्थिक तथा धार्मिक क्षेत्रका मानिसहरूलाई
पुरस्कारस्वरूप राज्यको जमिन बिर्ता दिने चलन थियो। २५ रोपनीभन्दा बढी यस्तो जग्गा
बिक्री गर्न वा धितो बन्धक राख्न नपाइने गरी हदबन्दी कायम गरियो।
उत्पादकलाई मोहियानी हकको सुनिश्चितता गरियो। जमिनदारले
उत्पादनको आधाभन्दा बढी हिस्सा लिन नपाउने र साहुले १० प्रतिशतभन्दा बढी ब्याज लिन
नपाउने व्यवस्था कायम गरिएको थियो।
नेपालमा २००७ सालभन्दा अगाडि कुनै पनि बजेटको तयारी
गर्ने चलन थिएन। २००७ सालको अन्तरिम सरकारका अर्थमन्त्री सुवर्णशमशेरले पहिलोपटक
बजेटको व्यवस्था गरी बजेट भाषण गर्नुभएको थियो।
बीपीको समाजवाद
बीपी कोइरालाले स्पष्ट भन्नुभएको थियो, ‘गरिबीको वितरण समाजवाद होइन। एक–एक चम्चा दूध वितरण
गर्नु समाजवाद होइन। औद्योगिक पुँजीवादको विकासबाट ठूलो पैमाना ९जग्गाजमिनको ठूलो
मात्रालाई, विस्तारलाई सानो पार्न लिएको अनुपात० मा उत्पादन गरी
न्यायोचित वितरण गरेर समाजवाद ल्याउन सकिन्छ। भूमिसुधार गरेर वास्तविक किसानलाई
जग्गा वितरण गर्नुपर्छ।’
त्यसो गर्दा औद्योगिक विकासका लागि जगेडा श्रमशक्ति
प्राप्त गर्न सकिन्छ। उत्पादनको विपुलता ९विशाल उत्पादन० लाई वितरण गरेर समाजवाद
ल्याउन सकिन्छ भन्ने विचार थियो। तर पछिल्लो समय मानवीय श्रममा आधारित मध्यमस्तरको
प्रविधिको प्रयोगद्वारा उत्पादन गर्ने नीतिमा जोड दिनुभएको थियो।
अमेरिका र युरोपको प्रगति एसिया र अफ्रिकी देशहरूको
कच्चा पदार्थको उपभोगका कारण मात्र सम्भव भएको तर्क राख्दै, पूरै संसारले त्यति नै उपभोग गर्ने हो भने संसारका
स्रोतले नपुग्ने तर्क थियो। त्यसैले उहाँले सादा जीवनको आवश्यकतामा जोड दिएको
पाइन्छ।
बीपीको समाजवाद र आजको सान्दर्भिकता
नेपालको अर्थतन्त्र अझै पनि विदेशमुखी रहेको छ। वैदेशिक
रोजगारीमा गएका नेपाली युवायुवतीले पठाएको रेमिट्यान्सले देश चलेको छ। नेपाललाई
उत्पादनमुखी अर्थतन्त्र बन्न अझै निकै समय लाग्ने देखिन्छ।
नेपालमा धेरै नागरिक भूमिहीन छन्। उहाँहरूले अरूको
९साहुको० खेतबारीमै काम गरेर आफ्नो र आफ्नो परिवारको जीविका चलाउनुपर्ने अवस्था छ।
पहाडी जिल्लाहरूमा भूमिहीनको संख्या कम भए पनि तराईका जिल्लाहरूमा भूमिहीनको संख्या
धेरै भएको समाचारहरू आउने गरेका छन्।
कतिपय नेपालीलाई अझै पनि अरूकै जग्गा कमाएर खानुपर्ने
अवस्था रहेको छ। आफूसँग भएको जग्गाजमिनले खान पुग्ने परिवार अझै पनि नेपालमा कम नै
छन्। नेपालको झन्डै ५५ प्रतिशत कृषक परिवारको आफ्नै जग्गाबाट उत्पादनले वर्षभरि
खान पुग्दैन।
नेपालको अहिलेको यो अवस्थालाई नियाल्दा बीपी कोइरालाको
त्यो बेलाको समाजवाद आज पनि उत्तिकै सान्दर्भिक छ। उहाँको समाजवादको मुख्य थिम
भनेको हरेक नेपाली परिवारको जमिन र त्यहाँबाट उत्पादन हुने वस्तुको औद्योगिकीकरण
तथा बजारीकरणबाट आम्दानी गर्नु हो। कुनै जमिन खाली र बाँझो नराख्नु पनि उहाँको
विचारको एउटा महत्त्वपूर्ण पक्ष थियो।
आज युवाहरू रोजगारीका लागि विदेश पलायन भएका छन्। गाउँमै
बसेर कृषि गर्ने युवाहरूले उत्पादन गरेका वस्तुहरूले बजार नपाउने समस्या, बजार पाइहाले पनि उचित मूल्य नपाउने समस्याका कारण
निर्वाहमुखी खेतीमै सीमित छन्।