राजकुमार
कार्की
असार ४ । सिद्धिचरण नगरपालिका
वडा नं. ११ का गरिब, विपन्न, दलित तथा अशक्त–अपांग
महिलाहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यले उन्नत जातका बाख्रा र बंगुरका पाठा
वितरण गरिएको छ।
‘महिलासँग महिला जनप्रतिनिधि विपन्न आयआर्जन कार्यक्रम’
अन्तर्गत आयोजित एक औपचारिक कार्यक्रममा १२ वटा उन्नत जातका बाख्रा र १० वटा
बंगुरका पाठा वितरण गरिएको वडा अध्यक्ष विनोद ताम्रकारले जानकारी दिनुभयो।
नगरप्रमुख तेजेन्द्र
खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लाभग्राही महिलाहरूलाई पशु हस्तान्तरण
गर्दै नगरप्रमुख खनालले प्राप्त बाख्रा तथा बंगुरलाई राम्रोसँग पालेर हुर्काउन र
त्यसलाई आम्दानीको स्रोतका रूपमा विकास गर्न आग्रह गर्नुभयो। उहाँले यस्ता
कार्यक्रमले विपन्न परिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने
विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमबाट
लाभान्वित स्थानीय महिलाहरूले पशुपालनमार्फत आयआर्जनको अवसर प्राप्त भएको भन्दै
खुसी व्यक्त गरेका छन्। उनीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आर्थिक
आत्मनिर्भरतातर्फ अघि बढ्न थप प्रेरणा मिलेको बताएका छन्।
सिद्धिचरण नगरपालिकाले विपन्न तथा लक्षित वर्गको जीवनस्तर उकास्न विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।