ओखलढुंगामा विभिन्न एघार स्थानमा आगलागी हुँदै


झगनखबर

 बैशाख १४ । ओखलढुंगा जिल्लाका विभिन्न ११ स्थानका जंगलहरुमा आगलागी भईरहेको छ । ११ गते देखि विभिन्न सामुदायिक तथा नीजि वनमा आगलागी भईरहेको हो । सिद्धिचरण नगरपालिका वडा नं २ स्थित नाँगीडाँडा सामुदायिक वन, चम्पादेवी गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने चनौटे सामुदायिक वन, मोलुङ्ग गाउँपालिका वडा नं २ तल्लोटारस्थित रानीवन सामुदायिक वन, खिजीदेम्बा गाउँपालिका वडा नं ७ स्थित केसीभिर वन, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं ४ स्थित झम्कु सामुदायिक वन, लिखु गाउँपालिका वडा नं ५ स्थित खोलाखर्क सामुदायिक वनमा बैशाख ११ गतेदेखि आगलागी भईरहेको छ । स्थानियबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको भएपनि नियन्त्रणमा लिन नसकिएको स्थानियबासीले जानकारी दिएका छन् । उक्त ६ वटा सामुदायिक वनमा लागेको आगोले तत्काल गाउँवस्तिमा जान सक्ने संभावना कम भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी लिखु गाउँपालिका वडा नं ६, पोखरीस्थित ब्यक्तिको नीजी वनमा १२ गतेदेखि, सिद्धिचरण नगरपालिका वडा नं १ ढाँड सामुदायिक वनमा १३ गतेदेखि, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं ९ माधवपुर स्थित भालुखोलामा ब्यक्तिको खरबारीमा १३ गतेदेखि आगलागी भईरहेको छ ।  सुनकोशी गाउँपालिका वडा नं १० सन्सारी सामुदायिक वनामा १२ गतेदेखि लागेको आगो अनियन्त्रीत भई सुनकोशी गाउँपालिका वडा नं ५ स्थित ओखरबोटमा ब्यक्तिको खरपाखामा आगलागी भईरहेको छ । सिद्धिचरण नगरपालिका वडा नं ९ ज्यामिरेस्थित ज्यामिरे सामुदायिक वनमा १३ गतेदेखि आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

सबै आगलागी भईरहेको स्थानहरुमा प्रहरी र स्थानियबासीको सकृयतामा नियन्त्रणमा लिने प्रयास भईरहेपनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । ज्यामिरे सामुदायिक वनमा लागेको आगो वस्तीमा छिर्ने संभावना रहेको वडा अध्यक्ष गुणराज खड्काले जानकारी दिनु भयो । साथै गाउँका नागरिकहरुलाई आगो नियन्त्रणमा सहभागी भई गाउँवस्ती जोगाउन अध्यक्षले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया