राजकुमा कार्की
माघ १९ । नेकपा एमाले ओखलढुंगाले भदौरे
हत्याकान्डमा संलग्न दोषी पत्ता लगाई कानूनी दायरामा तत्काल ल्याउन माग गरेको छ ।
एमाले ओखलढुंगाले सोमबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण तथा ज्ञापन पत्र
बुझाउदै दोषीलाई कडा बारबाहिको माग गरेको हो ।
२०८२ साल माघ १३ गते राती चिशंखुगढी गाउँपालिका वडा
नं ६ मा चन्द्रविक्रम राई र चन्द्रकुमारी राई दम्पतिको विभत्स हत्या गरिएको थियो ।
यो क्षेत्रमा भएको श्रृंखलाबद्ध अमानवीय
क्रुर हत्या र लुटपाटको घट्नाले जिल्लाबासीलाई त्रसित मात्र बनाएको छैन, मानिसको सम्मानपूर्वक
बाँच्ने अधिकारको कुठाराघात भएको छ, भनिएको छ ।
कार्यालय सचिव कृष्ण बहादुर कार्कीले हस्ताक्षर
गरेको ध्यानकर्षण पत्रमा भनिएको छ; ‘लगातार श्रृंखलाबद्ध हत्या भईरहने र नागरिक त्रसित
भईरहनुपर्ने अवस्थाले ओखलढुंगाबासीलाई चिन्तित तुल्याएको छ । यस्ता अपराधिक
घट्नाको गम्भिर अनुसन्धान गरी संलग्न जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिई कडा
भन्दा कडा कानूनी कारबाही गर्न जोड्दार माग गरिन्छ ।’ साथै यस्ता खालका जघन्य
अपराधका घट्नाहरुको कारण पत्ता लगाउन र त्यस्ता घट्ना हुन नदिनका लागि आग्रह समेत
गरेको छ ।
राई दम्पतिको हत्या भएको लामो समयसम्म पनि दोषीको
बारेमा कुनै पत्ता नलाग्नुले समाजमा झन त्रास बढेका कारण राज्यलाई ध्यानाकर्षण
गराइएको एमाले नेता हर्कबोल राईले जानकारी दिनु भयो । चिशंखुगगढी गाउँपालिका वडा
नं ६ मा नै करीब एक महिनाको अन्तरालमा २ बृद्ध दम्पति (४ जना) को लुटपाट पश्चात विभत्स हत्या गरिएको
प्रहरीले जानकारी दिएको छ । पुस १५ गते
भदौरेको गैरीगाउँमा सोवितमान थापा मगर र उहाँकी धर्मपत्नी रत्नमाया
थापामगरको लुटपाटपछि हत्या गरिएको थियो । त्यो भन्दा अगाडी असोज २६ गते सिद्धिचरण
नगरपालिका ४ चार्खुमा एकल महिला रत्न कुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको
थियो । हत्यामा संलग्न भएको आरोपमा चारजना युवा, मिलन भन्ने संगम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान
गरिरहेको छ ।
फेरि त्यहि ठाउँमा अर्का दम्पतिको उस्तै प्रकृतिमा हत्या गरिनुले आम नागरिकमा त्रास पैदा भएको छ । चिशंखुगढी– ६, भदौरेको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नि अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको १३ गते राती हत्या भएको थियो । श्रृंखलाबद्धरुपमा भएका कटनाका कारणले स्थानीयबासी त्रसित हुनुका साथै सुरक्षा चुनौति समेत बढेको छ ।