राजकुमार कार्की
बैशाख २१ ।
मोलुङ एक्वार सडक निर्माणमा हरिबोले भिरको चट्टान कटान गर्न नयाँ प्रविधिको प्रयोग गरिने भएको छ । लामो समय
सम्म पनि चट्टान कटान गर्न नसकेपछि, चट्टान फोर्न नयाँ प्रविधिको प्रयोग गरिने भएको हो । सुनकोशी गाउँपालिकाको वडा नं ६
काउसे देखि वडा नं ८ भाल्दीप आँपस्वारा
सम्म ३ किलोमिटर नयाँ ट्रयाक बनाउनु पर्ने हो । दुवै तर्फ सडकको ट्रयाक बनाईसकिएको
छ, हरिबोले भिरमा २००
मिटर चट्टानमा काम भईरहेको छ । उक्त चट्टानलाई लामो समय सम्म ब्रेकर लगाउदा पनि
कटान गर्न नसकेकाले केमीकल प्रयोग गरि चट्टान फोर्ने प्रयास गर्न लागिएको छ ।
साइडमा कम्प्रेशर मेसिन ल्याईसकेकाले सकेसम्म छिटो चट्टानलाई ड्रिल गरी केमीकलको
प्रयोग गरिने निर्माण कम्पनीका प्रोपाईटर तेज बहादुर भुजेलले जानकारी दिनुभयो ।
केमीकलले कसरी काम गर्छ <
ढुंगालाई कम्प्रेसर
मेसिनले ड्रिल गरेर ५ देखि ८ फुट सम्मको प्वाल बनाईन्छ । ५ फिटको प्वालमा साँढे २
लिटर र ८ फिटको प्वालमा साँढे ३ लिटर
केमीकल राखीन्छ । उक्त प्वालमा केमीकल राखेर १२ घण्टा देखि ७२ घण्टा सम्म राखिन्छ । केमीकलले ढुंगालाई
गलाएर चर्काउछ र ढुंगा टुक्रीन्छ । चट्टानलाई कति गहिराई सम्म चर्काउने फुटाउने हो
सोई अनुसार नै (५ देखि ८ फुट) प्वाल
बनाउने गरिन्छ । प्वालमा नाप
अनुसारको केमीकल राखेर कम्तिमा १२ देखि बढीमा ७२ घण्टा सम्म राख्नु पर्ने ब्लास्टर
राम प्रसाद पन्थीले जानकारी दिनुभयो ।
सडक निर्माणमा यो
प्रविधी ओखलढुंगा जिल्लामा पहिलो पटक प्रयोग गर्न लागिएको निर्माण कम्पनीले जनाएको
छ । केमीकलको प्रयोगबाट पनि चट्टान फुटाउन
नसकेका खण्डमा भने ब्लास्टीङको प्रयोगका लागि आवश्यक प्रकृया अगाडी बढाउने
प्रोपाइटर भुजेलले बताउनु भयो । सडक निर्माण सम्झौतामा ब्लास्टीङ आइटम नभएकाले केमीकलको प्रयोग गर्न लागेको पनि जानकारी
दिनुभयो ।
हर्कपुर देखि करिब ४
किलोमिटर मोलुङ दोभान सम्म पिच गर्ने र मोलुङ दोभान देखि अगाडी करिब साँढे २
किलोमिटर सम्म कटिङ गर्ने गरी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाले सम्झौता गरेको
हो । मिति २०७९ साल माघ महिनाको २३ गते सम्झौता भई २०८२ साल माघ महिनाको २३ गते
सम्पन्न गर्ने गरी करिब २५ करोड लागतमा
सम्झौता भएको इन्जीनियर दिपक कुमार दासले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा
यातायात मन्त्रालयको बजेटमा सडक निर्माण हुन लागेको हो ।
काम सुस्त गतिमा
भएकाले हर्कपुर सडक कार्यालयलाई ताकेता पश्चात अहिले काम शुरु भएको संघिय साँसद एवं राज्यव्यवस्था तथा सुशासन
समितिका सभापति रामहरि खतिवडाले बताउनु भयो । उहाँले सडक निर्माणमा बजेटको चिन्ता
नगरी आफ्नो निरन्तर काम गरेर समयमै सकाउने
गरी ध्यान दिन निर्माण कम्पनी र सडक कार्यालयलाई निर्देशन दिएको समेत बताउनु भयो ।
हरिबोलेभिरको चट्टान
काटेर सहज गाडी सन्चालन भएपछि ओखलढुंगा सदरमुकामदेखि उदयपुरको घुर्मी जोडीन
सबैभन्दा छोटो दुरीको सडक हुनेछ । यो सडक
ओखलढुंगाको हर्कपुर देखि रामपुर पात्ले
हुँदै सोलु जिल्ला सम्म जोडीन्छ । अहिले सुनकोशी गाउँपालिकाको ८, भाल्दीप सम्मको
ठेक्का लागेको हो ।