झगनखबर
फागुन ३ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा
तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको
इजलासले तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमीसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ
र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।
ललिता निवासको जग्गा व्यक्तिका नाममा
दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा
कर्मचारी संयन्त्रमा सीमित गरेको हो । पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको
नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका
छन् । जग्गा अनियमितता गरेको आरोपमा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव
दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।
त्यस्तै भूमाफियाहरु शोभाकान्त ढकाल, रामकुमार
सुवेदी र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि दोषी ठहर भएका छन् ।
चार वर्षअघि दर्ता भएको बहुचर्चित
ललिता निवास जग्गा अनियमितता प्रकरणमा एक महिनादेखि विशेष अदालतमा सुनुवाइ भइरहेको
थियो ।
बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ, २०७६ मा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले भ्रष्टाचारको आरोपमा ११०
जना विरुद्ध मुद्दा दायर गरेको थियो भने
तहतह गरी जग्गा किनेका ६५ जनामाथि जग्गा जफत गर्ने प्रयोजनका लागि मात्रै
प्रतिवादी बनाइएको थियो ।
ललिता निवासमा जग्गा किनेका
जग्गाधनीहरुको जमिन भने जफत हुने भएको छ
। ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने
आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताउनु
भयो । उहाँका अनुसार, जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै
सजाय र जरिवाना हुनेछैन ।