ब्यक्तिगत रकम संकलन गरी बिरामीलाई दर


झगनखबर

 भदौ २४ । सामुदायिक अस्पताल मिसन सोब्रुमा रहेका विरामीहरुलाई दर खुवाईएको छ । मेची महाकाली बुहारी संयुक्त आवज र जिल्ला महिला सुरक्षा जालो ओखलढुगाको संयुक्त आयोजनामा दर खुवाईएको हो । नँजिकीदै गरेको महिलाहरुको विशेष चाड हरितालिका तिजको अवसर पारेर बिरामीहरुलाई दर खुवाईएको बताएका छन् ।

अस्पतालमा उपचाररत सुत्केरी, गर्भवती लगायत अन्य गरी ७३ जना बिरामीहरुलाई दर खुवाईएको मेची महाकाली बुहारी संयुक्त आवजकी सदस्य बिमला दाहालले जानकारी दिनुभयो । दुवै संस्थाका इच्छुक सदस्यहरुबाट रु १ हजारका दरले रकम संकलन गरी दर खुवाईको हो । संस्थाका सदस्यहरुले अरु समयमा पनि सामुहिक रुपमा सहयोग गर्दै आएका छन् । प्रत्येक मासिक बैठकमा रु ५० का दरले खुत्रुके बचत गरिरहेका छन् । उक्त खुत्रुके बचतबाट जम्मा भएको रकमले बृद्धबृद्धाहरुलाई औषधी खान सहयोग गर्ने गरेको बताएका छन् ।  पैसा अभावका कारण स्वास्थ्य बीमाको नविकरण गर्न नसकेकाहरुको बीमा नविकरण गरिदिने जस्ता सहयोगी कामहरु पनि गरिरहेको सदस्य दाहालले बताउनु भयो ।

डक्टरहरुको सल्लाहअनुसार बिरामीले खानमिल्ने खिर र आलुको तरकारी वितरण गरिएको हो । जिल्ला समन्वय समिति ओखलढुंगाकी उपप्रमुख तारादेवी कार्की, जि.स.स सदस्य भिमकुमारी कटवाल (खत्री) र दुवै संस्थाका महिला सदस्यहरुको उपस्थितीमा दर वितरण गरिएको थियो । उपस्थित महिलाहरुले दर वितरण गर्दै बिरामीहरुको शिघ्रस्वास्थ्य लाभको कामना समेत गरेका थिए । दर वितरण गर्दै जि.स.स. उपप्रमुख कार्कीले दान दक्षिणा गर्नु भन्दा पनि यो नजिकिदै गरेको तिजको अवसरमा बिरामीहरुलाई दर वितरण गर्ने कार्य सह्रानिय भएको बताउनु भयो । बिरामीका कारण अस्पतालमा उपचारार्थ विरामी परिवारका सदस्यहरुबाट टाढा हुने भएकाले यस्ता खालका कार्यक्रमले उहाँहरुको मनोबल उच्च हुने पनि बताउनु भयो ।

खिर वितरण गर्दै जिल्ला महिला सुरक्षा जालो ओखलढुंगाकी अध्यक्ष अम्बिका श्रेष्ठले दर सबैले खानुपर्छ भन्ने भावनाले बिरामीहरुलाई दर खुवाएको बताउनु भयो । उहाले भन्नुभयो; ‘एकले थुकी सुकी, सयले थुकी नदी भनेझैँ धेरै सदस्यहरुको सहयोगले बिरामीहरुलाई दर खुवाउन सफल भएका हौँ ।

होटलहोटलमा गएर एक महिना अगाडी देखी दर खाने चलनले समाजमा विकृती ल्याएको बेलामा यसता खालका कार्यक्रममले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताएका छन् ।


प्रतिक्रिया