सन्दीप लामीछानेलाई बाहिरै बसेर मुद्दा लड्न अदालतको अनुमति


झगनखबर

फागुन १० । क्रिकेटर सन्दीप लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ । बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।  जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै पुनरावेदनका लागि  बिहीबार पुगेका उनलाई अदालतले बाहिरै बसेर मुद्दा लड्न लिखित अनुमति दिएको हो । कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट सन्दीपले जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति समेत मागेका थिए ।

गत महिना कामाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

परिवर्तित नाम गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् । बलात्कार मुद्दामा दोषी ठहर भएसँगै उनले क्रिकेटबाट अलग हुने स्वघोषणा गरेका थिए । यसैबीच उच्च अदालत पाटनमा उनले दिएको पुनरावेदनको निवेदन दर्ता भएको छ । निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ ।

प्रतिक्रिया