आचारसंहिता कार्यान्वयन गर्न अयोगको ७ बुँदे निर्देशन

कार्तिक २ । निर्वाचन आयोगको कार्यालयले राजनितिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न ७ बुँदे निर्देशन दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यका लागि सहभागी भएका राजनितिक दल तथा उम्मेदवारहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको हो । लाभको पदमा रहेका कतिपय राजनितिक ब्यक्तिहरुले निर्वाचन प्रचारप्रसार गर्दा सरकारी श्रोतसाधनको प्रयोग गर्ने, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीसहित  २५ जना भन्दा बढीको संख्यामा हिड्ने, कोणसभा वा भेला आयोजना गर्ने जस्ता आचारसंहिता विपरित कार्य गरेको भन्ने सुचना विभिन्न माध्यामबाट आएकाले, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगबाट सम्पादन गर्नकालागि राजनितिक दल तथा उम्मेदवारलाई निर्देशन दिइएको जानकारी दिएको छ ।

सात बुँदे निर्देशन M

१.आचारसंहिता २०७९ को दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रिले उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने, प्रचारप्रसार गर्दा सरकारी श्रोत साधनको प्रयोग गर्न नपाइने ब्यवस्था रहेको सन्दर्भमा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रि उम्मेदवार भएको भए आफु उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकुल नहुने गरी प्रचारप्रसार गर्ने, प्रचारप्रसार गर्दा सरकारी श्रोतसाधन तथा जनशक्तिको उपयोग नगर्ने, सरकारी कामको सिलसिलामा यात्रा गर्दा बाहेक निर्वाचन प्रचारप्रसारको लागि आफ्नो निर्वाचन क्षेत्र तर्फ जाँदा समेत सरकारी साधन श्रोतको नगर्ने तथा आफु उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचारप्रसार गर्न जाँदासमेत उल्लेखित ब्यवस्थाको पालना गर्ने ।

२. निर्वाचन आचारसंहिता २०७९ को दफा ५ बमोजिम स्थानिय कार्यपालिकाका पदाधिकारीले आफु बहाल रहेको स्थानिय तहमा निर्वाचन प्रचारप्रसार नगर्ने र सो नियमको प्रतिबन्धात्मक वाक्याँशको खण्ड (४) बमोजिम अन्य स्थानिय तहमा निर्वाचन प्रचारप्रसार गर्दा तथा प्रचारको लागि जाँदा आउदा समेत सरकारी श्रोतसाधन तथा जनशक्ति उपयोग नगर्ने ।

३.निर्वाचन आचारसंहिता २०७९ को दफा १३ मा मतदान हुने दिन भन्दा १७ दिन अघि देखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा सन्चारमाध्याममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने ब्यवस्था भएकाले सो आवधी (२०७९ साल कार्तिक १७) भन्दा अघि कुनै पनि राजनितिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम तथा सन्चारमाध्याम बाट कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्ने ।

४. निर्वाचन आचारसंहिता २०७९ को दफा १३ मा निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम उम्मेदवार, प्रस्तावक, समर्थक सहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बजागाजा तथा झाँकी सहित जान नहुने समेतको ब्यवस्था भएकाले सबै राजनितिक दलले सो ब्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रिले त्यस्तो कार्यक्रममा सरकारी साधन श्रोत तथा जनशक्तिको उपयोग नगर्ने ।

५. निर्वाचन आचारसंहिता २०७९ को दफा १३ मा निर्वाचन प्रचारप्रसारको लागि आयोगले अनुमति दिएको सवारीसाधन मात्र प्रयोग गर्न पाउने ब्यवस्था रहेकाले सबै राजनितिक दल तथा उम्मेदवारले, आयोगले तोके बमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रचारप्रसारको लागि सवारी साधन प्रयोग गर्ने, निर्वाचन प्रचारप्रसारका लागि अनुमति लिएका सवारीसाधन बाहेक अन्य सवारीसाधनमा दलको वा निर्वाचनको चिन्ह अंकित झण्डा प्रयोग नगर्ने ।

६. निर्वाचन आचारसंहिता २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ज) मा कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजानिक उद्यान, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने ब्यवस्था रहेको तथा सोहि दफाको उपदफा (२) मा त्यस्तो सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने ब्यवस्था रहेकोले कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा आचारसँहिताको दफा १३ को उपदफा (१)को खण्ड (ज) विपरित हुने गरी आफ्नो वा आफ्नो दल सँग सम्बन्धित प्रचारप्रसार सामग्री नराख्ने वा नटाँस्ने तथा अरुलाई समेत त्यस्तो प्रचारप्रसार सामग्री राख्न वा टाँस्न नदिने ।

७. माथी उल्लेखित भएका विषय तथा निर्वाचन आचारसंहिता विपरीतका अन्य ब्यवसथाको उलंघन भएमा प्रचलित कानुन बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने भएकाले राजनितिक दल तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको ब्यवस्था आफुले पालना गर्ने र अरुलाई समेत पालना गर्न लगाउने ।  

प्रतिक्रिया