वडा कार्यालयद्वारा टुहुरो बच्चालाई दुहुनो गाई उपहार


पुस २७, ओखलढुंगा । सिद्धिचरण नगरपालिका  १ नं. वडा कार्यालय तलुवाले  टुहुरो बच्चालाई दुध खानको लागी दुहुनो गाई  दिएको छ । तलुवा मुलघाटकी २० वर्षीय कल्पना भुजेलको पुस २० गते निधन भएको थियो । उसको ७ महिने छोरा मावली हजुरआमा सँग भएको र दुध खानको लागी कुनै उपाय नभएपछि वडा कार्यालयको १५ हजार र वडाअध्यक्ष तिर्थ घिमिरेको ब्यक्तिगत ५ हजार गरी जम्मा २० हजारको दुहुनो गाई दिइएको अध्यक्ष तिर्थ घिमिरेले बताए ।  नगरपालिकाको तर्फ बाट पनि रु १० हजार नगद सहित पोषीलो खानेकुरा  दिएको बताएका छन् । सामान्य परिवार भएकाले बच्चालाई पालन पोषण गर्न समस्या नहोस भनेर सहयोग गरेको मेयर तेजेन्द्र खनालले बताए । कलिलै उमेरमा च्यानमका कैलास कटवाल सँग भागी विवाह गरेकी कल्पनाले २० वर्षकै उमेरमा गत जेठमा छोरो जन्माएकी थिईन । बच्चा जन्मे पछि श्रीमान (प्रकास) ले वास्ता गर्न छोडेका थिए । श्रीमानले छोडेपछि  दुधे बालक सहित काठमाण्डौमा ज्यामी काम गर्दै बसेको माइती परिवार श्रोतले जनाएको छ । गत मंसिर २२ गते काठमाण्डौबाट तलुवा माईतिमा आएकी कल्पनाको पुस २० गते सामुदायिक अस्पताल मिसन सोब्रुमा कल्पनाको निधन भएको थियो । सुत्केरी भएको समयमा हेरचाह नभएको र खाना पनि नपाएका कारण कुपोषणले निधन भएको माइति परिवारले बताएका छन् । 

प्रतिक्रिया