झगनखबर
कार्तिक १ । मुख्यमन्त्री कार्कीलाई ८६
जना सांसदले समर्थन गरेका छन् । नवनियुक्त कोशी प्रदेश सरकारले बुधबार भएको
मतदानमा दुइ तिहाई भन्दा बढी मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेस आठ जनासहित २९, नेकपा (एमाले)का ३९ जना, नेकपा (माओवादी केन्द्र)का १३ जना, नेकपा (एकीकृत समाजवादी)का चार जना र
जसपाका एकसहित ८६ जनाले विश्वासको मत दिएको उपसभामुख सिर्जना दनुवारले घोषणा
गर्नुभयो ।
नेपालको संविधानको धारा १६८ को उपधारा
(४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४
(पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री
कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मत विभाजनको
आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेको थियो
।
विश्वासको मतको प्रस्ताव पेश गर्दा
छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार
कार्कीले कोशी प्रदेश सरकार निर्माण गर्दा संविधानको सबै धारा प्रयोग भइ अहिलेको
अवस्थामा आएको बताउनुभयो । मिलेर काम गर्न तथा सङ्घीयतालाई बलियो बनाउन अहिलेको
विकल्प नै उत्तम भएको बताउँदै उहाँले सहमति, सहकार्य
र एकताको संस्कृतिलाई बचाउन नै आफ्नो पार्टीले विश्वासको मत दिने स्पष्ट पार्नुभयो
।
कांग्रेस संसदीय दलका नेता तथा
पूर्वमुख्यमन्त्री उद्धव थापा, एकीकृत
समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, माओवादी केन्द्र संसदीय दलकातर्फबाट
दुर्गा चापागाइँ राजनीतिक स्थिरता र विकासका लागि यो सरकारलाई विश्वासको मत दिने
बताउनुभएको थियो ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद
सिटौलाले आफ्नो पार्टी विश्वासको मतको विपक्षमा रहने बताउनुभयो । उहाँले सरकारको
राम्रा कामका समर्थन र नराम्रो कामको आलोचनासहित जनतामाझमा जाने प्रतिक्रिया
दिनुभयो ।