ओखलढुंगा ७, बैशाख । ओखलढुंगा जिल्लाको विभिन्न
सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । सिद्धिचरण नगरपालिका वडा नं.
११ र १२, लिखु गाउँपालिका वडा नं ३, चम्पादेवी गाउँपालिका वडा नं. १० को
सामुदायिक वनमा लागेको आगो नियन्त्रण भन्दा बाहिर गएको छ । लिखु गाउँपालिका वडा
नं. ३ को चिउरी डाँडास्थित पँहेले सामुदायिक वनमा लागेको आगो अनियन्त्रित हुदा
स्थानिय २ घर जलेर नष्ट भएको छ । चिसंखुगढी गाउँपालिका वडा नं ८ स्थित भालुखोप
सामुदायिक वनमा बैशाख २ गते बाट लागेको आगो ७ गते बिहिबार मात्र नियन्त्रणमा आएको
थियो । सुनकोशी गाउँपालिका वडा नं ९ स्थित
ककनीको फलाङटार सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छ । मोलुङ गाउँपालिका वडा नं ४ हर्कपुर स्थित भदौरे
सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको छ । चिसंखुगढी गाउँपालिका वडा नं. ४
स्थित सिन्दुरे पाखा सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरीले
जनाएको छ । सिद्धिचरण नगरपालिका वडा नं ११
स्थित तामाखैरे सामुदायिक वनमा लागेको आगो नियन्त्रण भन्दा बाहिर गएकोले
सदरमुकामको रामबजार जोखिममा परेको स्थानियले बताएका छन् । स्थानियबासी र सुरक्षा
निकायहरु सबैजना आगो नियन्त्रण गर्न खटिरहेको बताएका छन् । उक्त जंगलमा ६ गते
बुधबार बाट आगो लाग्न शुरु भएको थियो । त्यसै गरि सिद्धिचरण नगरपालिका वडा नं ९
बाट शुरु भएको आगलागि सिद्धिचरण १२ को सामुदायिक वनमा बिहिबार प्रबेश गरेको छ ।
रातिको समयमा प्रबेश गरेको आगो नियन्त्रण गर्न कठिनाई भईरहेको छ । कठिनाईको बावजुद
स्थानियबासीहरु राति पनि आगो नियन्त्रणमा लिने प्रयासमा छन् । नगरपालिकाका २ वटा
दमकल र सोलुबाट २ वटा दमकल ल्याई नियन्त्रण लिने प्रयास गरे पनि हावा चलेका कारण
नियन्त्रण गर्न कठिनाई भईरहेको छ । बिहिबार राती पनि स्थानियबासीहरु जंगलमै आगो
नियन्त्रणमा लिने प्रयासरत रहेका छन् । घना जंगल भएका कारण रातीको समयमा दमकलको
प्रयोग गर्न सम्भव छैन ।