अध्यक्षको एकल निर्देशनमा दिएको सार्वजनिक बिदा, गैरकानूनी भन्दै उपाध्यक्षले खोले कार्यालय


झगनखबर

फागुन १ । ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकामा अध्यक्ष निशान्त शर्माको मौखिक निर्देशनमा दिइएको सार्वजनिक बिदा कानून बिपरित भएको भन्दै उपाध्यक्ष सन्तोष बाबु थापाले कार्यालय खोल्नु भएको छ ।  सर्वाेच्च अदालतको निर्णय र संघिय सरकारको निर्देशन बिपरित कार्यपालिकाको निर्णयबिना एकल निर्देशनमा दिइएको सार्वजनिक बिदा कानून र संघिय सरकारको निर्णय बिपरित भएकाले यसको अवज्ञा गर्दै कार्यालय खोलेको उपाध्यक्ष थापाले बताउनु भयो । माघ २९ गते निमित्त प्रमुख प्रशाकिय अधिकृत थिर प्रसाद भट्टराईको हस्ताक्षरमा सार्वजनिक बिदाको सुचना प्रकाशन गरिएको थियो । सुचनामा फागुन १ गते जनयुद्ध दिवसको अवसरमा ज्ञात अज्ञात महान सहिदहरु प्रति सम्मान स्वरुप गाउँपालिका भरिका सम्पुर्ण सरकारी निकाय तथा सार्वजनिक संघसंस्थाहरुलाई  सार्वजनिक विदा दिने सुचना जारी गरिएको थियो ।

चिशंखुगढी गाउँपालिकाले जारी गरेको सुचना :

अध्यक्ष निशान्त शर्मा र प्रमुख प्रशासकीय अधिकृत सिताराम राई कार्यालय बाहिर काठमाण्डौ  भएको बताएका छन् । स्वास्थ्या शाखा प्रमुख एवं निमित्त प्रशासकीय अधिकृत भट्टराईले अध्यक्ष र  प्रशासकीय अधिकृतको निर्देशनमा सार्वजनिक विदाको सुचना जारी गरेको बताउनु भयो ।

सर्वाेच्च अदालतको फैसला र संघिय सरकारको निर्णय विरुद्ध दिइएको सार्वजनिक विदा कानून विपरित भएकाले गैरकानूनी रुपमा गरिएको कार्यप्रति बिरोध जनाउदै आफ्नो कार्यालय खोलेर जनताको काम गरेको उपाध्यक्ष थापाको भनाई छ । उहाँका अनुसार वडा नं ६ भदौरे र वडा नं ७ माम्खा सोलाघर वडा कार्यालयहरु र केहि शैक्षिक संस्थाहरु पनि नियमित कार्यालय सन्चालन गरेका छन् ।  गाउँपालिकाको कार्यालयका सबै शाखाहरु  भने बन्द नै भएका छन् ।

नेपाल सरकार गृह मन्त्रालयले २०८० माघ २९ गतेको मितिमा फागुन १ गते सार्वजनिक बिदा नरहेको सुचना प्रकाशन गरेको  थियो । उक्त सुचनामा सम्मानित सर्वाेच्च अदालतको फैसला र मन्त्रीपरिषदको २०८०।१०।२५ को  निर्णयानुसार २०८० फागुन १ गते मंगलबारका दिन निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको सुचना जारी गरेको थियो ।

गृह मन्त्रालयले जारी गरेको सुचना :


चिशंखुगढी गाउँपालिकाका प्रमुख शर्मा नेकपा माओबादी तर्फबाट र उपप्रमुख थापा नेपाली कांग्रेस तर्फबाट निर्वाचित भएका हुन् । स्थानिय तह निर्वाचनमा माओबादी र कांग्रेसको गठबन्धन भएको थियो ।

प्रतिक्रिया