ओखलढुंगा २२, फागुन । नेपाली
कांग्रेस ओखलढुंगाका पुर्व उप सभापति हेम प्रसाद दाहाल र उहाँकी धर्मपत्नि बेदुका
दाहाल मृत अवस्थामा भेटिएका छन् । मोलुङ गाउँपालिका वडा नंं २ लामिडाँडा निवासी दाहाल दम्पति घर नजिकै फरक फरक ठाउँमा
झुन्डिएको अवस्थामा सोमबार बिहान करिब ९ बजेको समयमा भेटिएका हुन । दाहाल आफ्नो घर
देखि करिब २०० मिटर पुर्व फडिन्द्र बहादुर सार्कीको खरबारीमा खनिउँको रुखमा रातो
कपडाले बनेको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको र उहाँकी श्रीमती घर
देखि ४० मिटर पुर्व फडिन्द्र बहादुर सार्कीकै बारीको डिलमा भएको सिरिस जातको रुखमा
नाईलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना के
कति कारणले भएको हो भन्ने कुरा खुलीनसकेकोले अनुसन्धान भईरहेको जिल्ला प्रहरी
कार्यालय ओखलढुंगाले जनाएको छ ।
करिब ९ बजेको समयमा श्रीमती बेदुका दाहाल घरनजिकै झुन्डिएको
अवस्थामा भेटिएपछि हेम प्रसादको खोजी भएको थियो । वरिपरी कतै पनि नभेटिएपछि करिब
११ बजेतिर घरभन्दा अलि टाढा खरबारीमा झुन्डिएकै अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
२००९ सालमा जन्मिएका दाहाल ३१ साल देखि
नेपाली कांग्रेसको सक्रिय राजनितिमा सक्रिय हुनुहुन्थ्यो । कांग्रेस भएकै
कारण २०४५ सालको अन्तिमतिर ओखलढुंगामा
प्रहरीले हिरासतमा लिएको थियो । २०४६ सालमा नेपालमा प्रजातन्त्र आएपछि झन सक्रिय
रुपमा राजनितिमा लागेका दाहाल २०५२ सालमा सुकुम्बासी समस्या समाधान आयोग
ओखलढुंगाका जिल्ला अध्यक्ष बन्नु भएको
थियो । पार्टीको क्षेत्रिय सभापति देखि लामो समय जिल्ला सदस्य हुदै उप सभापति
भएर राजनिति गर्नु भएको थियो । पछिल्लो
समय युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने सोच भएका पुराना नेता
दाहाल पदविहिन भएपनि राजनितिमा भने सक्रिय रहनुभएको थियो । सबै सँग बोल्ने स्वभाव
भएका दाहाल मिजासिलो नेताका रुपमा जिल्लामा परिचित छन् । नेता दाहाल, २०५१ सालका
माननिय चन्द्रकान्त दाहालका आफ्नै माईलो भाई हुन् । उहाँका १ छोरा र ५ छोरी रहेका
छन् । नेता दाहालको मृत्युले नेपाली कांग्रेस ओखलढुंगालाई अपुरणिय क्षति भएको
नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले बताउनु भयो ।