भुसिँगामा करेन्ट लागेर घट्नास्थलमै कर्मचारीको मृत्यु


राजकुमार कार्की

 बैशाख २२ । जिल्लाको खिजीदेम्बा गाउँपालिका, भुसिँगा रावाटोलमा करेन्ट लागेर कर्मचारीको घट्नास्थलमै मृत्यु भएको छ । ट्रान्सफर्मर चार्ज गरी चेक गर्ने क्रममा सिग्माकोण प्रा. ली. काठमाण्डौका कर्मचारी बिन्दु चौधरीको मृत्यु भएको हो । खिजीदेम्बा गाउँपालिकाका ७ र ८ वडामा केन्द्रीय लाइन वितरण भईरहेको छ । उक्त लाइन वितरण गर्ने क्रममा सिग्मा कम्पनीका कर्मचारी कैलाली जिल्ला साबिक हसुलीया गाविस वडा नं ४ बस्ने दयाराम चौधरीका छोरा अन्दाजी वर्ष ३० का बिन्दु चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीको लास सोइ ट्रान्सफर्मरमा झुन्डीरहेको अवस्थामा रहेको र प्रहरी चौकी रावादोलुबाट गएको प्रहरी टोलीले घट्नास्थल सुरक्षीत गरिरहेको जनाएका छन् । थप अनुसन्धान र कानूनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुइटेलको टोली घट्नास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

चौधरी भुसिँगामा लाइन वितरण गर्न बैशाख २० गते देखि आउनु भएको थियो । रामेछाप सबस्टेशनमा लाइन बन्द गर्न सुझाएर चौधरी ट्रान्सफर्मर चेक गर्न चढ्नु भएको थियो । चढ्ने बित्तिकै ट्रान्सफर्मरमै करेन्ट लागेर झुन्डीएको मृतक चौधरीका साथीलाई उद्धृत गर्दै भुसिँगाका वडाअध्यक्ष नगेन्द्र बस्नेतले जानकारी दिनुभयो ।  सबस्टेशनमा तत्काल लाइन बन्द नगरिएका कारण चौधरीको मृत्यु भएको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया