सुकुम्बासी निस्सा वितरण गर्न शुरु


झगनखबर

 असार १८ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुंगाले निस्सा वितरण गर्न शुरु गरेको छ । जिल्लामा भूमिहीन नागरिक पहिचान गरी लालपुर्जा वितरण गर्नको लागी निस्सा वितरण गर्न शुरु गरेको हो । जिल्लाको सुनकोशी गाउँपालिकाबाट शुरु गरिएको निस्सा वितरण अन्य स्थानिय तहमा पनि तत्काल वितरण गरिने राट्रिय भूमी आयोग जिल्ला समिति ओखलढुंगाका अध्यक्ष पुरुषोत्तम लुईटेलले बताउनु भयो । उहाँका अनुसार, ‘मोलुङ्ग गाउँपालिकामा भूमिहीन नागरिक पहिचान भईसकेकाले अब तत्काल वितरण गरिनेछ ।

सुनकोशी गाउँपालिकाका ६ जनाले सुकुम्बासी पहिचान गरी जग्गा उपलब्ध गराउन निवेदन दिएकोमा एक जनाको भक्तपुरमा श्रीमतीको नाममा जग्गा भएको प्रमाणित भएपछि ५ जनालाई सुकुम्बासी निस्सा वितरण गरिएको छ । सुनकोशी४ की बेलमाया राई, सुनकोशी१ का बिनोद कुमार मगर र राजु लुईटेल, सुनकोशी ९ का बल बहादुर मुक्तान तामाङ्ग र सुनकोशी१० की डेक कुमारी धमला घिमिरेलाई निस्सा वितरण गरिएको हो ।

निस्सा प्राप्त गरेका भूमिहीन सुकुम्बासी नागरिकहरुले घडेरी लिने या खेतियोग्य जमिन लिने उहाँहरुको रोजाईमा जग्गा पाउनेछन् । घडेरीमात्र लिने सुकुम्बासी नागरिकले साँढे चार आना देखि ११ आना सम्म जग्गा पाउनेछन् भने खेतियोग्य जग्गा लिने नागरिकले ६ रोपनीसम्म खेतियोग्य जग्गा पाउने राष्ट्रिय भूमि आयोगको कार्यविधिमा उल्लेख गरिएको छ । निस्सा प्राप्त गरेका भूमिहीन नागरिकहरुलाई जग्गा प्राप्त भएसम्म उहाँहरु बसोबास गरेकै वडामा जग्गा वितरण गरिनेछ भने उक्त वडामा जग्गा प्राप्त हुननसकेमा अन्य ठाउँमा स्थानान्तरण गरी जग्गा उपलब्ध गराउनुपर्ने ब्यवस्था रहेको छ । आफै बसोबास गरेको वडामा जग्गा उपलब्ध भए सोही वडामा नभए आफ्नो पालिका भरी जुनुसुकै वडामा जग्गा प्राप्त भएको ठाउँमा स्थानान्तरण गरी बसोबासको ब्यवस्था मिलाइनेछ । यदि पालिका भरी पनि जग्गा उपलब्ध हुननसकेमा जिल्लास्तर, प्रदेशस्तर हुदै केन्द्रस्तर सम्म स्थानान्तरण गराई जग्गा उपलब्ध गरानुपर्ने ब्यवस्था रहेको छ । आफ्नै वडामा जग्गा उपलब्ध हुँदा हुँदै अन्य ठाउँमा जान्छु भनेर भूमिहीन नागरिकले रोज्न भने पाउने छैनन् ।  भूमिहीन नागरिकहरुलाई निशुल्क जग्गा उपलब्ध गराउने राज्यको नीति अनुसार सकेसम्म बसोबास गरेकै ठाउँमा जग्गा उपलब्ध गरानु पर्नेछ । जग्गा प्राप्त नभएमात्र अन्य ठाउँमा स्थानान्तरण गराई निशुल्क जग्गा उपलब्ध गराउनुपर्नेछ ।

राष्ट्रिय भूमि आयोग केन्द्रिय कार्यालयले मिति २०७९ साल जेठ २५ गते देखि असार १ गते भित्र निवेदन दर्ता गर्न माग गरेको थियो । उक्त मितिमा पर्न आएका निवेदन माथी छानविन गरी निस्सा वितरण गर्न शुरु गरिएको अध्यक्ष लुईटेलले जानकारी दिनुभयो । विवाहित नागरिकका हकमा श्रीमान वा श्रीमती दुईजना मध्य एक जनाको नाममा देशको कुनै पनि ठाउँमा जग्गा भएमा भूमिहीन नागरिक नहुने र एकाघरमा भएका आफ्ना अविभावकको नाममा जग्गा भएमा त्यस्ता नागरिकलाई भूमिहीन नागरिक नहुने ब्यवस्था रहेको छ । तर अंशबण्डा भएका छोराहरु मध्ये साहुलाई रिण बुझाउन आफ्नो नामको सबै जग्गा बुझाएमा वा बेचविखन गरेमा त्यस्था नागरिकलाई पनि भूमिहीन सुकुम्बासी नागरिक भन्न मिल्ने ब्यवस्थाको सुचना २०७६ साल माघ २८ गतेको राजपत्रमा प्रकाशीत भएको अध्यक्ष लुईटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया