ओखलढुंगा १३, फागुन । राष्ट्रपतिको निर्वाचनका लागिसङ्घीय संसद् भवन
नयाँ बानेश्वरमा आज उम्मेदवारी दर्ता हुँदैछ। सङ्घीय संसद् भवन नयाँ बानेश्वर
परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३
बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको
कार्यालयले जानकारी दिएको हो । राष्ट्रपतिको उम्मेदवार बन्न पाँच, पाँच जना
प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । निर्वाचनको लागि फागुन २५
गते बिहान १० बजे देखि ३ बजे सम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनको मतदाताको
सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र
प्रदेशसभा सदस्य (सातै प्रदेश) को पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ।
सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। सङ्घीय संसद्को सदस्य
हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको
व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन्। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले
पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा
पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।